काठमाडौं, असार १५ । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्न सिफारिस गरेको छ ।
गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले सोमबार डीआईजी थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । सिफारिसबारे थप निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ ।
केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीतर्फ एक जना एआईजीको दरबन्दी थप गरेको थियो ।
एआईजीमा सिफारिसमा परेका थापाको नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेमा थापा नेपाल प्रहरीको एआईजी बन्नेछन् । उनी एआईजी भए भने आगामी प्रहरी नेतृत्वका लागि उनीसमेत दाबेदार बन्नेछन् ।
यसअघि गत वर्षको २७ कात्तिकको मन्त्रिपरिषद् बैठकले विश्वराज पोखरेललाई एआईजी बनाएको थियो । त्यसयता उनी आगामी प्रहरी नेतृत्वका लागि एक्ला दाबेदार रहेका थिए ।
अब भने एआईजी पोखरेल र थापाबीच आगामी प्रहरी नेतृत्वका लागि प्रतिस्पर्धा हुने पक्का भएको छ । नेपाल प्रहरीका हालका प्रमुख आईजीपी शैलेश थापा क्षत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् । राजधानी दैनिकबाट