Logo

साउनबाट अनिवार्य गरिँदै इम्बोस्ड नम्बर



काठमाडौं, असार १५ । सरकारले आगामी साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक नमराज घिमिरेले सवारीसाधनको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यसहित आगामी साउनदेखि नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको जानकारी दिए । नयाँ खरिद गरिने दुई पाङ्ग्रे, चार पाङ्ग्रेलगायत सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ ।
इम्बोस्ड नम्बर प्लेट जडानका लागि भर्नुपर्ने फारम भर्ने प्रणालीलाई अहिले परिस्कृत गर्नेलगायत सबै प्रकारका प्राविधिक काम पूरा भइसकेको बताउँदै उनले सार्वजनिक, कूटनीतिक नियोग, संस्थानलगायत सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको स्पष्ट पारे ।

सबै प्रकारका पुराना सवारीसाधनको हकमा विभागले सूचना जारी गर्दै ‘लट’अनुसार इम्बोस्ड नम्बर प्लेट जडान गरिने र अबको तीन वर्षभित्र सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिने छ । उनले भने, “सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेपछि नम्बर प्लेटमा एकरूपताका साथै यातायात विभागमा मुलुकभरिका सवारीसाधनको एकीकृत विवरण प्राप्त हुनेछ । सवारीसाधनको प्रयोग गरी हुने आपराधिक घटनाको अनुसन्धानमा समेत सहजता आउनेछ । ”

इम्बोस्ड नम्बर प्लेटमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ (आरएफआईडी) डिभाइस जडान गरिएको हुन्छ जसले सवारीसाधन रहेको ठाउँबारे जानकारी दिने गर्दछ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot