Logo

अभिमान सिंह फाउण्डेसनले ७ वटै प्रदेशमा दुई सय बेडको अस्पताल स्थापना गर्ने, काठमाडौंको टोखामा अक्सिजन प्लान्ट स्थापना गरिँदै (भिडिओसहित)



काठमाडौं, १५ असार । अभिमान सिंह फाउण्डेसनले गरिब, असहायहरुको उपचारको लागि सात वटै प्रदेशमा दुई सय बेड क्षमताको अभिमान सिंह सामूदायिक अस्पताल निर्माण गर्ने घोषणा गरेको छ । त्यस्तै, काठमाडौंको टोखामा भने आगामी एक महिनाभित्रै सञ्चालनमा ल्याउनेगरि अक्सिजन प्लान्ट स्थापना गर्ने पनि फाउण्डेशनले जनाएको छ ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर फाउण्डेशनले ७ वटै प्रदेशमा अस्पताल र अक्सिजन प्लान्ट स्थापना गर्नको लागि करिब ५ अर्ब ३८ करोडको लागत अनुमान पनि सुनाएको छ । अस्पताल निर्माण कार्य सुरु गर्नको लागि कम्तिमा पनि एक वर्ष समय लाग्ने संस्थाले जनाएको छ । तर, अक्सिजन प्लान्ट भने एक महिनाभित्रै सुरु गरिने जनाईएको छ ।

कोभिड महामारीको दोस्रो लहरमा अक्सिजनको चरम अभावका कारण धेरैले ज्यान गुमाउनुपरेको भन्दै अब अक्सिजनको अभावमा कोही पनि नेपालीले ज्यान गुमाउन नपरोस भनेर तत्काल काठमाडौंको टोखा नगरपालिका, वडा नम्बर ३ टोखामा अभिमान सिंह मेडिकल अक्सिजन उद्योग सञ्चालन गर्ने जनाएको छ । उक्त उद्योगबाट उत्पादित अक्सिजन भने सुस्त मनस्थिति, अपाङ्गता भएकाहरु, संचारकर्मी, गरिब, कृषक परिवारलगायत लक्षित वर्गहरुलाई निःशुल्क वितरण गर्ने जानकारी दिईएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै फाउण्डेसनका संचालक उपसमितिका संयोजक रविन्द्र दाहालले सातवटै प्रदेशमा निर्माण गरिने अस्पतालको लागि र अक्सिजन उद्योग सञ्चालनको लागि भारतको आर.टि.आई. पब्लिक च्यारिटी ट्रष्टले भने एक अर्ब ६० करोड दिने प्रतिबद्धता जनाएको जानकारी दिए ।

सुस्त मनस्थिति भएका बालबालिका, अशक्त÷अपांग, संचारकर्मीहरु, गरिब, कृषक परिवार, द्धन्द्ध पीडित परिवारलाई अक्सिजन निःशुल्क उपलब्ध गराउने बताए । उनले भने,‘अक्सिजन प्लान्ट तयार गरेर कोरोना भाइरसको तेस्रो भेरियन्टको संक्रमण बढेको खण्डमा लक्षित वर्गहरुलाई अक्सिजन निःशुल्क वितरण गनछौ ।’

कार्यक्रममा फाउण्डेशनका संस्थापक अध्यक्ष सुदिपमान सिंह बस्नेतले प्रदेश न १ मा मोरङ, प्रदेश न.२ मा सिराहा, बाग्मति प्रदेशमा काठमाडौं, गण्डकी प्रदेशमा स्याङ्जा, लुम्बिनी प्रदेशमा दाङ, कर्णाली प्रदेशमा सुर्खेत र सुदुरपश्चिम प्रदेशमा कैलालीमा अक्सिजन उद्योग स्थापना गर्न लागेको जानकारी दिए । उनले अन्तर्राट्रियस्तरमा युवाहरु खडा गरेर संगठन बनाउने योजना रहेको पनि बताए ।

त्यस्तै, कोरिया–नेपालमैत्री समाजको संयोजक जगदिश महरले हाल अक्सिजन उद्योग काठमाडौंको टोखा नगरपालिका वडा ३ मा संचालनको तयारी गरेको बताए । उनले १० वर्षभित्र ७ प्रदेशमा अस्पताल निर्माण गर्ने तयारी गरिरहेको जानकारी दिए । उनले भने, ‘लक्षित वर्गहरुलाई अस्पतालबाट सुलभ र शल्यक्रियाको चार्जमा निशुल्क उपचार गर्नेछौं ।’

फाउण्डेशनकी कोषाध्यक्ष लक्ष्मी अधिकारीले श्रमिक भिषामा विदेश गएका, अपांग, अशक्त परिवारलाई अक्सिजन प्लान्ट तयार गरेर आवश्यकतानुसार अक्सिजन दिने बताइन् । संस्थाले युवाहरुलाई लागुऔषध दुव्र्यसनमा नलाग्नका लागि चेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ । फाउण्डेशनको सामूदायिक अस्पतालको निर्माण गरी पछाडी परेका समुदाय, वर्ग तथा सामुदायिक हस्पिटल संचालन गरी पछाडी परेका समुदाय, वर्ग तथा जातजातिहरुको स्वास्थ्यको स्तरमा बृद्धि गर्ने उद्देश्य रहेको छ ।
साथै संस्थाले पछाडि परेका समुदाय, वर्ग तथा जातजातिको स्वास्थ्यको स्तरमा बृद्धि गर्न सकेसम्म निःशुल्क वा कमभन्दा कम शुल्कमा छिटो र स्तरिय मेडिकल अक्सिजनको आपुर्ति गर्ने लक्ष्य राखेको छ ।

सामाजिक, आर्थिक, शैक्षिक तथा स्वास्थ्यको क्षेत्रमा स्तर उठाउने र पछाडी परेका वर्गको स्तरमा बृद्धि गर्न आवश्यक पहल चाल्दै आएको संस्था हो । संस्थाले अस्पताल निर्माण तथा अक्सिजन उद्योग सञ्चालनको लागि आर्थिक सहयोग गर्नसमेत राष्ट्रिय तथा अन्तर्राष्ट्रि संघ÷संस्थाहरुसँग अपिल गरेको छ । संस्थाको नाममा रहेको एन.आई.सी. एशिया बैंक, सितापाईला शाखामा रहेको खाता नम्बर G441001067052402 मा सहयोगी मनहरुलाई आर्थिक सहयोगको लागि आग्रह गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्