Logo

बैठक खर्च विपन्न महिलाको उपचारमा



सप्तरी, १५ असार: राजविराजमा गठित मानव अधिकार निगरानी समूहले आफ्नो बैठक खर्चको रकम एक विपन्न महिलालाई उपचारका लागि प्रदान गरेको छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि इन्सेकद्वारा गठित समूहको बैठकको चियानास्ता खर्च वापत् जम्मा भएको पाँच हजार पाँच सय रुपियाँ राजविराज–९ मलेठकी सियावती मेहतालाई उनकै घर पुगेर समूहले प्रदान गरेको हो ।

इन्सेक प्रतिनिधि मनोहर पोखरेल, सहजकर्ता दिपक यादव र समूहका सहस्यसहित पुग्नुभएका निगरानी समूहका अध्यक्ष रघुवर साहले उक्त रकम हस्तान्तरण गरे ।
उपचार खर्चको अभावमा घरमै बस्नु भएकी आँखा रोगी मेहताले प्राप्त रकमले विराटनगर गई उपचार गराउने बताए । आँखा अस्पताल लहानले विराटनगर जान सल्लाह दिएको र मृगौलामा समेत समस्या देखिएको उनले जानकारी दिए । उनका श्रीमान पत्रकार एवं समूहका सदस्य उपेन्द्रनारायण मेहताको गत वैशाख १३ गते मृत्यु भएको थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्