Logo

‘शालीन प्रयास गरें भएन, असाधारण निर्णयतिर सोच्दैछु’



काठमाडौं, असार १६ । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले शालीन व्यवहारले नै लोकतान्त्रिक संस्कार बढाउन सकिन्छ भन्ने आफ्नो विश्वासलाई बारम्बार असफल पारिएकाले असाधारण निर्णयतिर सोच्न बाध्य भएको बताएका छन् ।

प्रतिनिधिसभामा मैले प्रधानमन्त्रीजीलाई रुलिङ गर्न नसकेको भन्ने टिप्पणी म स्वीकार गर्छु, शालीन व्यवहारले नै काम हुन्छ भने टसलमा किन आउने भन्ने मेरो धारणा हो, तर अब असाधारण निर्णयको विकल्प पनि सोच्दैछु’ सभामुख सापकोटाले मंगलबार संसद् भवनमा आयोजित सम्पादक समूहको भेलामा बताए। कानुनविद्, पूर्व सभामुख र राजनीतिक दलका नेताहरूसँग गत जेठ महिनादेखि आफ्नो भूमिकाको खोजीका लागि अन्तरक्रिया गर्दैआएका सभामुख सापकोटा बीचमा ‘असाधारण अधिकार प्रयोग गर्ने’ भनेका कारणले चर्चामा पनि आए । तर, असाधारण अधिकार के हो भन्ने जवाफ सम्पादक समूहको अन्तरक्रियामा पनि आंशिक मात्र खुलाए ।म बोलेर होइन, व्यवहारबाटै कार्यसफलता प्रमाणित गर्ने कुरामा विश्वास राख्छु, शालीन र शिष्ट हुनुपर्छ, ज्ञानको आयतन बढी भएका अनुभवी व्यक्तिको संगतले आफू पनि असल पात्र बनिन्छ भन्नेमा मेरो विश्वास छ, सभामुखको गरिमामय पद पनि आवेशमा आएर काम गर्नका लागि होइन, कुनै पनि दलको बोली मैले बोल्न मिल्दैन, तर जब राष्ट्रिय स्वार्थमाथि प्रहार हुन्छ मैले पनि असाधारण व्यवहार देखाउन करै लाग्छ’ सभामुख सापकोटाले आंशिक जानकारी दिए ।

निरन्तर १५ वर्ष शिक्षण पेशामा रहेर ‘सर–सर भनिएर उच्च आचरण देखाउने अभ्यास गरेको कारण’ सभामुखको पदमा रहेर राजनीतिक दलका नेताले जस्तो आन्दोलन गर्न नसकेको बताउँदै उनले भने– बालुवाटारको निवासबाट मलाई प्राविधिक कारणले मात्र निकालेको होइन, सुनियोजित तरिकाले नै विभेदको व्यवहार गरिएको हो भन्ने टिप्पणीप्रति म गम्भीर छु ।राजधानीबाट प्रकाशित–प्रसारित सञ्चार माध्यमका करिब २५ सम्पादकहरूको भेलामा १४ सहभागीले उनलाई सुझाव दिएका थिए । सुझावमा शक्ति पृथकीकरणको सिद्धान्तमा आधारित रहेर हेर्दा कार्यपालिकाका प्रमुख प्रधानमन्त्री केपी ओली र न्यायपालिकाका प्रमुख चोलेन्द्र शमशेर जबराले आ–आफ्नो क्षेत्रमा काम गरेर सकारात्मक वा नकारात्मक चर्चा बटुलिरहे पनि व्यवस्थापिकाका प्रमुख भएर सभामुख सापकोटाले भूमिका खेल्न नसकेको, सबैभन्दा कमजोर भएको टिप्पणी गर्दै सशक्त भएर अघि बढ्न भनिएको थियो । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्