काठमाडौं, १६ असार । संवैधानिक निकायमा नियुक्त २० जनाविरुद्ध सर्वोच्च अदालतमा आज पूरक रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिटको अन्तिम टुंगो नलागेसम्म आयोगका पदाधिकारीको हैसियतमा कुनै कार्य नगराउनु भनी अन्तरिम आदेशको माग गर्दै पूरक रिट दर्ता गरेका हुन् ।
रिटमा असार १० गते अख्तियार, लोकसेवालगायतका आयोगहरुमा २० जनाको नियुक्ति प्रथम दृष्टिमै गैरसंवैधानिक, बदनियत र कपटपूर्ण रहेकोले बदर गर्न भनिएको छ । त्रिपाठीले रिटमा संविधानको धारा २९२ को संसदीय सुनुवाईको वाध्यात्मक संवैधानिक बन्दोवस्तलाई छलेर गरिएकोले नियुक्ति स्वतः बदरभागी रहेको जिकिर गरेका छन् ।
१० असारमा लोकसेवा आयोगमा अध्यक्ष सहित सदस्यहरु, समावेशी आयोगमा अध्यक्षसहित सदस्यहरु, निर्वाचन आयोगलगायतका विभिन्न आयोगहरुमा सदस्य नियुक्त गरिएको थियो ।
supreme court writ by dinesh tripathi