Logo

राष्ट्र बैंकले तोकेको सीमामा एसएमई कर्जा प्रवाह कठिन



काठमाडौं, असार १७। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई लघु, साना तथा मझौला उद्योगमा कर्जा प्रवाह गर्ने सीमा तोके पनि लक्ष्य प्राप्त गर्न भने चुनौती देखिएको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत असार मसान्तसम्म वाणिज्य बैंकहरूले कुल कर्जाको ११ प्रतिशत १ करोड रुपैयाँभन्दा कमका लघु, साना तथा मझौला उद्यम (एसएमई) मा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । तर, केन्द्रीय बैंकको १० महीनाको तथ्यांकअनुसार हालसम्म वाणिज्य बैंकहरूले कुल कर्जाको ७ दशमलव ९८ प्रतिशत मात्रै एसएमईमा लगानी गरेका छन् ।

चालू आवको वैशाखसम्मा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको कुल कर्जा ३६ खर्ब ७ अर्बमध्ये २ खर्ब ८७ अर्बको हाराहारीमा एसएमईमा कर्जा गएको छ । असार मसान्तसम्ममा थप १ खर्ब ९ अर्ब हाराहारीमा एसएमईमा लगानी बढाउन सकेमात्र राष्ट्र बैंकले तोकेको लक्ष्य पूरा हुने देखिन्छ ।

यसरी साना तथा मझौला उद्योगमा कर्जा बढाउन चुनौती हुनसक्ने बैंकरहरू बताउँछन् । अहिले अधिकांश बैंकहरूको कुल कर्जाको तुलनामा एसएमईमा गएको कर्जा न्यून भएको बैंकरहरूले स्वीकार गरेका छन् ।

चालू आवको मौद्रिक नीतिले एसएमईमा गर्नुपर्ने लगानीमा बैंकहरूको अवस्था चुनौतीपूर्ण भएको भन्दै यसको म्याद थप्नुपर्ने सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेल बताउँछन् । ‘एसएमईलाई असारसम्म कुल कर्जाको ११ प्रतिशत दिने भनिए पनि हामीले नसक्ने देखेका छौं ।

त्यसैले हामीलाई थप समय चाहिन्छ,’ उनले भने । कोभिडका कारण अहिले एसएमई कर्जा प्रवाह हुने अवस्था नभएकाले केन्द्रीय बैंकले तोकेअनुसारको लक्ष्य समयमै प्राप्त हुन चुनौती देखिएको सीईओ पोखरेलको भनाइ छ ।

साना तथा मझौला उद्योगमा विकास बैंकहरूको कर्जा प्रवाह राम्रै देखिन्छ । सञ्चालनमा रहेका १८ ओटा विकास बैंकहरूले कुल कर्जाको ६ दशमलव ७४ प्रतिशत कर्जा १ करोडभन्दा कमका लघु, साना तथा मझौला उद्योगहरूमा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot