सुर्खेत, असार १७ । राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने सुर्खेतका तीन जनालाई कारागार चलान गरिएको छ। जिल्ला अदालत सुर्खेतका न्यायाधीश डिलप्रकाश सापकोटाको इजलासले सुर्खेतको गुर्भाकोट—९ का चौमन घर्ती, भूपेन्द्र बुढा र मिलन भनिने मनबहादुर पुनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार अदालतको आदेशपछि तीनै जनालाई बुधबार जिल्ला कारागार सुर्खेत चलान गरिएको छ। फिरन्ते राउटे समुदाय गुर्भाकोट नगरपालिकामा रहँदा १९ र २३ वर्षीया युवतीलाई गत जेठ २१ गते स्थानीय बोटेचौरस्थित एक होटलमा लगेर यौनहिंसा गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो।