काठमाडौं, १७ असार । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल एमालेलाई सिध्याउनुपर्छ र शेरबहादुरजी र नेपाली कांग्रेसलाई अगाडि बढाउन बोकेर हिँड्नुपर्छ भनेर हिँडेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
तर, माधव नेपाल त शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर लागिसक्नुभयो नि त ? भनेर पत्रकार धमलाले राखेको जिज्ञासामा उनले भने–‘प्रधानमन्त्री त ऋषिजी पनि बन्नुहुन्छ नि, प्रधानमन्त्री बन्नको लागि नेपालका हरकोही नागरिक उपयुक्त परिस्थिति सिर्जना भयो भने प्रधानमन्त्री बन्न सकिन्छ, ऋषिजी पनि बन्न सकिन्छ, शुभकामना छ मेरो । त्यसकारण शेरबहादुरजी त चार पटक प्रधानमन्त्री भएको व्यक्ति हो । अर्को चोटी हुनुहुन्न भनेर मैले भनेको होईन् । माधव नेपाल पनि २२ महिना प्रधानमन्त्री भैसकेको व्यक्ति हो । उहाँ पनि फेरि हुनुहुन्न भनेर म भन्दिन् । तर, प्रश्न के छ भने जुन बाटोबाट उहाँ जाँदै हुनुहुन्छ, कम्युनिष्ट पार्टी भनेको वर्गीय दृष्टिकोण बोकेको पार्टी हो । अब शेरबहादुरजीको नेतृत्वमा कम्युनिष्ट आन्दोलनलाई सवल बनाउने, श्रमिक जनताको मुक्ति गर्ने भनेर मेरा प्रिय मित्र कमरेड माधव नेपाल अगाडि बढ्नुभएको छ, कृपया त्यो भ्रमबाट मुक्त हुनुहोस, र १८ गते हामी स्वागत गर्न तयार छौं ।’