Logo

माधव नेपालबाट यी ‘हस्ती’ लाई अलग्याउँदै ओली



काठमाडौं, १७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अन्तिम क्षणमा अचुक राजनीतिक अस्त्र हानेर विपक्षीलाई हायलकायल पार्न खप्पिस छन् । उनले २०७७ सालभर त्यस्तै अस्त्र हानेर कहिले पुष्पकमल दाहाल प्रचण्ड, कहिले माधवकुमार नेपाल त कहिले शेरबहादुर देउवालाई अप्ठ्यारोमा पारिदिए ।

पछिल्लो समय ओलीविरुद्ध एकजुट भएका प्रचण्ड, नेपाल र देउवाका अलावा उपेन्द्र यादवसमेतलाई ओलीले अप्ठ्यारो पारिदिएका छन् । ओलीले विगतमा चुच्चो नक्शा ल्याएर विरोधीलाई समेत संसदमा मतदान गर्न वाध्य बनाइदिएका थिए । यसपटक पनि उनले त्यस्तै कुनै राजनीतिक अस्त्र हान्ने संकेत गरेका छन् ।

विशेषगरी नेकपा एमालेभित्र उनले नयाँ चाल चलिरहेका छन् । विगतमा प्रचण्डसँग पार्टी एकता गरेर उनकै समूहलाई विभाजित बनाउन लागिपरे । प्रचण्डको कोटाबाट मन्त्री भएका रामबहादुर थापा बादल र लेखराज भट्टलाई मन्त्री हुँदै आफ्नो पक्षमा ल्याए । विस्तारै पूर्वमाओवादीका अन्यलाई पनि साथ लिदै गए ।

माधव नेपाललाई पार्टी खोल्ने छुट छः बामदेव गौतम

नेकपा विभाजन हुँदासम्म टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरीलगायतलाई ओलीले आफ्नो पक्षमा पारिसकेका थिए । उनीहरुलाई मन्त्री बनाएर सत्ता त टिकाए तर पदमुक्त हुनबाट बचाउन सकेनन् । ओलीले नवौं महाधिवेशनको कमिटी ब्युँताए । त्यसमा ४ जना पूर्वमाओवादीलाई समेत सहभागी गराएका छन् ।

ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई पनि साथमा ल्याए । ११ जनालाई मन्त्री बनाए । जति सिट उति मन्त्री बनाएको विषय उठेको थियो । तर, अदालतको आदेशले सबैको मन्त्री पद गयो । त्यतिबेला बादलकी पत्नी नैनकला थापा र उनीनिकट ज्वालाकुमारी साह पनि मन्त्री बनाइए । तर, दुवैको पद गयो ।

अहिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अप्ठ्यारोमा पार्ने गरी ओलीले नयाँ अस्त्र फालेका छन् । अब उनले नेपालको पुरानो माग सम्बोधन गरेको जस्तो गरी केही महत्वपूर्ण कदमहरु चालेका छन् । २ जेठ २०७५ को अवस्थामा एमाले कटिीलाई फर्काउनुपर्ने नेपालको सर्त थियो । त्यसलाई सम्बोधन गरेर स्थायी कमिटीमा नेपालका पनि दुईजनालाइ थपेका छन् । उनले एमालेको नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँतिएको छ ।

ओलीले नवौं महाधिवेशनको कमिटी ब्युँताउनुमा दुईवटा मुख्य कारण छन् । सर्वोच्च अदालतले पछिल्ला कमिटीले गरेका निर्णय मान्य नहुने अन्तरिम आदेश जारी गरेको छ । कर्णालीका एमाले सांसदहरुको पुर्नबहाली भएको छ । यसबाट एमालेको हालको स्थायी कमिटी देखि महाधिवेशन आयोजक कमिटीको निर्णयको वैधतामाथि नै प्रश्न उठेको छ । नवौं महाधिवेशनको निर्वाचित कमिटीको निर्णयले मात्र मान्यता पाउने अदालतको आशय देखिन्छ । त्यसकारण पनि ओलीका लागि २ जेठ २०७५ को अवस्थामा पार्टी कमिटीलाई ब्युँताउनुपर्ने वाध्यता थियो ।

अर्कोतर्फ, माधव नेपाल खेमाको ठूलो पंक्ति सहमति निकाल्न सक्रिय छ । २ जेठ २०७५ को अवस्थामा एमाले फर्किएकाले पदाधिकारीहरु फेरि रहन्छन् । त्यसले माधव नेपाल अप्ठ्यारोमा परेका छन् । उनलाई समूहभित्रैबाट एमाले एकता कायमै राख्न दबाब बढेको छ । नेपाल समूहमा फुट ल्याउन ओलीले यो रणनीति चाले । त्यसमा उनी सफल देखिन थालेका छन ।

नेपाल समूहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायत नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँतिएमा मिलेर जानुपर्ने पक्षमा थिए । उनीहरुको माग पूरा भएको छ । ओलीले नेपाल समूहलाई अप्ठ्यारोमा पार्न पनि एकपछि अर्को कदम चालिरहेका छन् । माधव नेपाल र भीम रावलबाट पाण्डे, भुसाल, बिष्ट, भट्टराईलगायतलाई अलग्याएर कमजोर हालतमा एमालेमा स्थान दिने रणनीति देखिएको छ ।

एमालेको नवौं महाधिवेशनमा विजयी र पराजितहरु (मतसहित)



प्रतिक्रिया दिनुहोस्