Logo

चार लेन सडक विस्तारको योजना



काठमाडौं, असार १८ । सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कमला–ढल्केबर–पथलैया सडकखण्डको विस्तार प्रक्रिया अगाडि बढाएको छ । त्यस क्रममा परामर्शदाता कम्पनीको सूची तयार भएको छ ।

राजमार्गको सो खण्डको विस्तार गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि आठवटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएको सडक विभागले जनाएको छ । त्यस खण्डको लम्बाइ १३० किलोमिटर रहेको छ । सरकारले अहिले दुई लेन भएको सो राजमार्गलाई चार लेनमा विस्तार गरिरहेको छ ।

विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने सरकारको नीतिअनुसार राजमार्गको कमला–ढल्केबर–पथलैया सडकखण्डको विस्तार प्रक्रिया अगाडि बढेको बताए । विस्तारका लागि ‘डीपीआर’ निर्माण गर्न आठवटा कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएको जानकारीसमेत उनले बताए । भारत, दक्षिण कोरिया, सिङ्गापुर, टर्की र स्पेनका परामर्शदाता कम्पनी सूचीकृत भएको हो ।

सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सीडीई लक्ष्मीदत्त भट्टले सो राजमार्ग खण्डको विस्तारका लागि डीपीआर तयार गर्न सङ्क्षिप्त सूचीमा सूचीकृत भएका कम्पनीहरूको अहिले प्राविधिक र आर्थिक मूल्याङ्कन भइरहेको जानकारी दिए । विभागले २०७७ जेठ २२ गते आशयपत्र माग गरेकोमा ४२ वटा परामर्शदाता कम्पनीको निवेदन परेको थियो ।

“सङ्क्षिप्त सूचीमा सूचीकृत भएका कम्पनीहरूसँग प्राविधिक र आर्थिक प्रस्ताव माग गरिएकोमा मूल्याङ्कनमा आठवटै कम्पनी सक्षम देखिएका छन् । असार २४ गतेदेखि ती कम्पनीहरूको आर्थिक मूल्याङ्कन सुरु हुन्छ । दुईवटै मूल्याङ्कनमा बढी अङ्क प्राप्त गर्ने कम्पनीलाई छनोट गरिने छ,” भट्टले थप स्पष्ट पारे ।

छनोट भएका कम्पनीसँग भदौभित्र सम्झौता गरी असोजदेखि काम सुरु गर्ने लक्ष्य राखिएको छ । भट्टका अनुसार काम सुरु भएको एक वर्षभित्र डीपीआर तयार गरी सोको प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ । डीपीआर प्रतिवेदन तयार भइसकेपछि विस्तारका लागि निर्माण कम्पनी छनोट गरिने छ । तीन वर्षभित्र डीपीआर र विस्तारको काम सम्पन्न गर्ने लक्ष्य लिइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्