Logo

मेयरको प्रतिबद्धतापछि नगरसभा चालू



ललितपुर, असार १८ । मेयर चिरिबाबु महर्जनले कार्यपालिका बैठक छलेर अघि नबढ्ने भनी लिखितरूपमा विश्वास दिलाएपछि ललितपुर महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यपालिका बैठकबाट पारित भएको छ । मेयर महर्जनले चारबुँदे पत्र लेखेर कार्यपालिका सदस्यलाई अबका दिनमा कार्यपालिकालाई छलेर आफूले कुनै पनि निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यपालिका बैठक छलेर मेयर महर्जन एकलौटी तवरमा अघि बढेको भन्दै बहुमत कार्यपालिका सदस्यले लगातार विरोध गरेपछि बुधबार मेयर महर्जनबाट सो प्रतिबद्धता आएको हो । असार १५ गते बसेको कार्यपालिका बैठकमा २६ जना कार्यपालिका सदस्यले मेयर महर्जनसमक्ष ‘अबका दिनमा कार्यपालिका छलेर कुनै निर्णय गर्दिनँ भनेर’ बैठकमा विश्वास दिलाउनुपर्ने माग राखेका थिए ।

उनीहरूले मेयरले कार्यपालिकालाई छलेर निर्णय गर्ने शैली नत्यागेसम्म नीति तथा कार्यक्रम कार्यपालिका बैठकबाट पारित नगर्ने अडानसमेत लिएका थिए । उक्त बैठकमा मेयर महर्जनले सबैसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने र महत्वपूर्ण विषयमा छलफल गरेर मात्र कार्यपालिका बैठकमा लगिने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिबद्धताको पहिलो बुँदामा विभिन्न समयमा राखेका असहमति, ध्यानाकर्षण यही असार २३ गते बस्ने कार्यपालिका बैठकमा छलफल गरी टुंग्याउने भनिएको छ । कार्यपालिका सदस्य एवं वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जनले महानगरपालिकालाई विधि प्रक्रियाअनुरूप अघि बढाउन मेयर महर्जनको पत्र महत्वपूर्ण आधार हुने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि कार्यपालिका बैठक छलेर एकलौटी तवरमा विभिन्न निर्णय गर्नुभएकोमा बहुमत कार्यपालिका सदस्यले पछिल्लोपटक असार चार गते शुक्रबार असहमति दर्ता गरेका थिए । मेयर महर्जनले कार्यपालिका बैठकलाई जानकारी नदिई पछिल्लोपटक कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई एक लाख रुपियाँ, कोरोना संक्रमणले गर्दा स्वास्थ्य स्थिति गम्भीर भई भेन्टिलेटर बस्नुपर्ने मानिसलाई ५० हजार र आइसोलेसनमा बस्नुपर्नेलाई २५ हजार रुपियाँ प्रदान गर्ने निर्णय गर्नुभएको थियो । जुममार्फत बसेको विपद् व्यवस्थापन समितिको बैठकले गरेको सो निर्णय जेठ २२ गते घोषणा गरिएको असहमति पत्रमा उल्लेख गरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्