Logo

वैदेशिक रोजगारीलाई खोपको अवरोध



काठमाडौं, असार १८ । एक वर्षदेखि करिब ठप्पको अवस्थामा रहेको वैदेशिक रोजगारी चाँडै सुरु हुने अपेक्षा गरिएको बेला कोरोनाविरुद्धको खोप अवरोधको रूपमा देखिएको छ। कोरोना संक्रमण घट्दै जाँदा वैदेशिक रोजगारी पुनः सुरु हुने अपेक्षा गरिएको थियो। यसैबीच, गन्तव्य मुलुकका रोजगारदाताले श्रमिकलाई कोरोनाविरुद्धको खोप अनिवार्य गर्न थालेपछि पुनः वैदेशिक रोजगारी प्रभावित हुने देखिएको हो।

हालसम्म संयुक्त अरब इमिरेट्स र कुवेतले रोजगारीका लागि आफ्नो मुलुक प्रवेश गर्ने श्रमिकलाई कोरोनाविरुद्धको खोप अनिवार्य गरेका छन् भने साउदी अरेबिया, ओमान, बहराइन पनि सोही बाटोमा अघि बढेको व्यवसायीले बताएका छन्। नेपालको ठूलो गन्तव्य मलेसियाले डेढ वर्षदेखि नेपाली श्रमिक लिएको छैन।

सरकारले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन नसक्दा लामो समयदेखि बेरोजगार भएका युवा वैदेशिक रोजगारीमा जान नपाउने अवस्था सिर्जना भइरहेको म्यानपावर व्यवसायी बताउँछन्।

‘सरकारले कोरोनाविरुद्धको खोप खरिद गरी सबै नागरिकलाई उपलब्ध गराउँदासम्म वैदेशिक रोजगारी शून्यमा झर्ने खतरा देखिएको छ,’ म्यानपावर व्यवसायीले भने, ‘गन्तव्य मुलुकका रोजगारदाताको कुरा सुन्दा कोरोनाविरुद्धको खोप नलगाई नेपाली कामदार वैदेशिक रोजगारीमा जान पाउलान् जस्तो दैखिँदैन। यता सरकारले तत्काल खोप ल्याएर सर्वसाधारणलाई उपलब्ध गराउला जस्तो पनि छैन।’

कोरोना महामारीको संक्रमण केही घटेको जस्तो देखिएपछि वैदेशिक रोजगार विभागले श्रम स्वीकृति खुला गरेको छ। तर गन्तव्य मुलुकका रोजगारदाताले कामदार मागमा त्यत्ति जोड नगरेको व्यवसायी बताउँछन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्