Logo

असफल दल निरंकुशतालाई मलजल



सागर पण्डित

सागर पण्डितः प्रजातान्त्रिक देशहरूमा राजनीतिक दलहरू राजनीतिक चेतनाको शक्तिगृह (पावर हाउस) मानिन्छन् । राजनीतिक दललाई आधुनिक राजनीतिको जीवनरेखा ( लाइफ लाइन) पनि भनिन्छ । परम्परागत राजनीतिक अवस्थाबाट राजनीति आधुनिकतातर्फ अग्रसर हुने क्रममा हरेक समाजमा राजनीतिक दलहरूको उदय हुन्छ । विशेष गरी राजनीतिक दललाई आधुनिकताको प्रतीकका रूपमा लिने गरिएको छ । निरंकुश शासन भएका देशहरूमा राजनीतिक दलको भूमिका निकै संकुचन पारिएको हुन्छ भने लोकतान्त्रिक र उन्नत शासन प्रणाली अगालेका मुलुकहरूमा दलहरू विस्तारित र सशक्त भूमिकामा रहेका हुन्छन् । हरेक लोकतान्त्रिक मुलुक र त्यहाँको शासकीय प्रणाालीमा राजनीतिक दलहरू नै निर्णायक भूमिकामा रहेका हुन्छन् । राजनीतिक दलबिना शासकीय व्यवस्था तथा कामकाज चलाउन असम्भव नभए पनि अत्यन्तै कठिन हुन सक्छ ।

यस्तो महत्वपूर्ण भूमिका खेल्ने राजनीतिक दललाई हामीकहाँ भने नेताहरूले पंगु साबित गराइदिएका छन् । नेताहरूसँग राजनीतिक दल प्रत्यक्ष रूपमा जोडिने भएकाले पनि ती नेताहरूले अपनाउने विचार, रणनीति कार्यकौशलता, क्षमता र इमानदारिताले राजनीतिक दलको सफलतामा मात्रै निर्भर गर्दैन सिंगो शासकीय प्रणालीलाई नै सफल बनाउन महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले राजनीतिक दल कमजोर हँुदै गए भने शासन प्रणालीमाथि नै गम्भीर प्रश्नसमेत सिर्जना हुन पुग्छन् । नेपालको सन्दर्भमा हेर्दा पञ्चायती शासन व्यवस्थाको पतनसँगै स्थापना भएको लोकतन्त्रमा शासन व्यवस्था सञ्चालन गर्ने राजनीतिक दल र तिनका नेता दुवै जनताको नजरमा अप्रिय बन्न पुगे । जसको फलस्वरूप मुलुकले १० वर्षे युद्ध भोग्नुपर्ने अवस्था आयो ।

अहिले राजनीतिक दल र जनताहरूकै संयुक्त प्रयासले विश्वमै सबैभन्दा उन्नत मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापना भएको छोटो समयमा नै यो शासन प्रणालीले विभिन्न चुनौती भोग्न बाध्य भइरहेको छ । अहिले नेताहरूकै असक्षमताका कारण संघीय शासन प्रणालीसमेत छोटो समयमा नै असफल हुने भय बढिरहेको छ । नेताहरूमा लोकतान्त्रिक संस्कारको विकास हुन सकेको छैन भने उनीहरूले राजनीतिलाई व्यापार व्यवसायको थलोका रूपमा स्थापित गराउन थालेका छन् । देश र जनताको मुहार फेर्ने गरी काम गर्न छोडेर आफ्नै स्वार्थको बाटोमा नेताहरू हिँडिरहेका छन् । अहिले कु्र्सीको खेल यतिसम्म विकृत भइसकेको छ कि एउटा राजनीतिक दलले अर्को राजनीतिक दललाई ध्वस्त पारिदिने र एउटा नेताले अर्को नेतालाई ध्वस्त पारिदिने आत्मघाती र राष्ट्रघाती काम स्वयं हाम्रा नेताहरूले गरिरहेका छन् । राजनीतिक दलको विज्ञान (जसलाई स्टेसियोलोजी भनिन्छ) ले राजनीतिक दललाई सार्वजनिक हित प्रवद्र्धनका लागि एकजुट भएका इमानदार मानिसको समूहका रूपमा विश्लेषण गरेको छ ।

स्टेसियोजोजीको सो विश्लेषणअनुसार के हाम्रा राजनीतिक दलका नेताहरू इमानदारिताका साथ मुलुक र सार्वजनिक हितका लागि एकजुट भएका छन् त ? पक्कै पनि छैनन् । अहिले हाम्रा राजनीतिक दल एकजुट हुनुको साटो एकले अर्कालाई सखाप बनाउने र एकले अर्काको अस्तित्व नै नामेट बनाउने गलत धुनमा छन् । राजनीतिक दल र तिनका नेताहरूको यही प्रवृत्ति र संस्कारले गर्दा सारा नेपालीहरूले अहिले नपाउने दुःख पाइरहेका छन् । मुलुकमा कोभिडको सन्त्रास छ, कोभिडबाट दैनिक कैयांै मानिस अकाल मृत्युवरण गर्न बाध्य भइरहेका छन् । लगातारको लकडाउनबाट नागरिकहरू बिहान र बेलुकी के खाऊँ भन्ने अवस्थामा पुगेका छन् । तर, सरकार, राजनीतिक दल र तिनका नेताहरूका लागि यो विषय सामान्यजस्तै भएको छ ।

यस्तो अवस्थामा सत्तारूढलगायत सबै राजनीतिक दल एकै ठाउँमा उभिएर कोभिडलाई परास्त गर्ने सामूहिक योजनासहित एकीकृत रूपमा अगाडि बढ्ने प्रण गर्नुपथ्र्यो । अहिले पनि हाम्रा राजनीतिक दलका प्रमुख नेताहरू जनतालाई कोभिडबाट बचाउने योजना बनाउन र आफैं जनताको घरदैलोमा गएर कोभिडबाट त्रसित भइरहेका जनताको चहराइरहेको घाउमा सान्त्वनास्वरूप मलम लगाउन असफल हँुदै आइरहेका छन् । अहिले राजनीतिक दल, नेता र जनताबीच यति धेरै ग्यापको अवस्था छ, जसले गर्दा आमजनतामा राजनीतिक दल र नेताहरूमाथि नै वितृष्णा पैदा भइरहेको छ ।

विभिन्न विद्वानले राजनीतिक दलका कार्यहरूबारेमा स्पष्ट रूपमा विवेचना गर्दै दललाई मार्गनिर्देशन गर्ने काम गरेका थिए । जसअनुसार राजनीतिक दलको काम सरकारको स्थापना र नियन्त्रण मात्रै नभएर राजनीतिक प्रक्रियालाई सशक्त रूपमा जोड्ने, सरल गर्ने र स्थिर पार्ने, सरकार र जनताबीच सम्पर्क सूत्रका रूपमा काम गर्ने रहेको छ । पछिल्लो समयमा राजनीतिक दललाई आधुनिकीकरणको महत्वपूर्ण माध्यमका रूपमा मानिँदै आएको छ ।

राजनीतिक दलले सरकारले गरेको राम्रो कार्यलाई राम्रो र नराम्रोलाई खराब भन्ने हैसियत राख्नुपर्छ । तर, हामीकहाँ एउटा दलले जतिसुकै राम्रो काम गरे पनि अर्को दल र तिनका कार्यकर्ताले विरोध गर्नैपर्ने र एउटा दलले जतिसुकै नराम्रो गरे पनि सो दलका नेता कार्यकर्ताले राम्रो गरेको छ भन्ने प्रवृत्ति अन्यन्तै घातक छ । अब सबै दल र तिनका नेताहरूले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्राका रूपमा नै चित्रण गर्न सक्ने खुबीको विकास गर्न सक्नुपर्छ । यसो गर्न सकेमा मात्रै गलत कार्य गर्ने राजनीतिक दल र तिनका नेताहरू सुध्रन सक्छन् ।

जब आमजनतामा राजनीतिक प्रणाली, दल तिनका नेताहरूप्रतिको विश्वास, आशा र भरोसा टुट्न पुग्छ त्यतिबेला जनतामा राजनीतिप्रति नै अलगावको अवस्था आउन पुग्छ । त्यस्तो अवस्थामा जनताहरूले राजनीतिक प्रणालीमाथि अपनत्व लिन छोड्छन् र सहभागिता जनाउन पछि छोड्छन् । अनि त्यतिबेला शासन सत्ता नै गम्भीर संकटमा पर्ने गर्छ । राजनीतिक दल र तिनका नेताहरूको व्यवहारले जनता वाक्कदिक्क हुँदै गयो र यस्तो अवस्थाको समयमा नै सूक्ष्म व्यवस्थापन हुन सकेन भने मुलुकमा नसोचेर पनि एकतन्त्रीय निरंकुश शासन नआउला भन्न सकिँदैन् । किनकि अति गरेपछि खति हुन्छ भन्ने सिद्धान्त नै रहेको छ । जनताको भोको पेटले सधै स्वतन्त्रता भनेर बस्दैन ।

जनताको आधारभूत आवश्यकताका रूपमा रहेको गासबास कपास, स्वास्थ्य शिक्षा र सुरक्षालगायतका आवश्यकता छिटोभन्दा छिटो परिपूर्ति हुन सकेन भने पनि जनताले शासकीय प्रणालीको विकल्प आफै खोज्न सक्छन् । हामीले यही संघीय शासन प्रणालीलाई देश र जनताको हितमा केन्द्रित गराएर अघि बढ्न सक्यौं भने शासन व्यवस्था सहजै टिकाउन सक्छौ यदि त्यस्तो गर्न सकेनौं भने संघीय शासन प्रणालीबाट पुनः ब्याक हुनुपर्ने स्थिति नआउला भन्न सकिँदैन । त्यस्तो स्थितिमा मुुलुक अग्रगमन नभई पश्चगमनतर्फ जान्छ ।

किनकि बहुदलीय व्यवस्थामा रहेका राजनीतिक दल र तिनका नेताको एकपछि अर्को असफलताले निरकुंशताका पक्षपातीलाई मलजल भइरहेको छ । त्यसैले अब संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनप्रणाली ड्राइभ गर्ने दल र तिनका नेतामा व्यापक शुद्धीकरण जरुरी भएको छ । लेखक राजधानी दैनिकका सम्पादक हुन् ।



प्रतिक्रिया दिनुहोस्