काठमाडौं, १९ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल आन्तरिक छलफलमा जुटेका छन् । हिजो बसेको एमाले केन्द्रीय कमिटी बैठकले माधव नेपालसहति २३ जना सांसदलाई सोमबार साँझ ५ बजेसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि नेता नेपाल अब के गर्ने भन्नेबारे निर्णय लिनको लागि आन्तरिक छलफलमा जुटेका हुन् । नेता नेपालनिकट नेता सोमप्रसाद पाण्डेले नेता नेपाल कोर टिमसँग छलफलमा जुटेको पुष्टि गरे । उनले पार्टी एकताको लागि दुवै तर्फबाट गम्भीर पहल भैरहेको जानकारी दिए ।
तर, नेता नेपालनिकट नेताहरुले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने उद्घोष गरिसकेका छन् । हिजो बैठकले हस्ताक्षर फिर्ता लिन निर्देशन गरेलगत्तै रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा नेतृ रामुकमारी झाँक्रीले कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारेकी थिईन् उनले बरु राजनीतिबाट सन्यास लिने तर हस्ताक्षर फिर्ता नलिने उद्घोष गरेकी थिईन् ।
नेपाल पक्षधर युवा नेताहरु भने अब निशर्त एमालेमा फर्कनुपर्ने पक्षमा उभिएका छन् । युवा नेताहरु ओलीसँग नजिकएपछि नेता नेपाललाई पनि अहिले दबाब परेको छ । आजको छलफलपछि अब के गर्ने भन्नेबारे नेता नेपालले निर्णय लिने जनाईएको छ । अध्यक्ष केपी शर्मा ओलीले भने तोकिएकै समयमा हस्ताक्षर फिर्ता नलिईए अब एमालेको एकता असम्भव रहेको हिजोको बैठकमा ब्रिफिङ गरिसकेका छन् । file photo