Logo

ओली-नेपाल एक-अर्काविरुद्ध आक्रामक, मिलनबिन्दु भेटिएन



काठमाडौं, १९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमतिको सम्भावना झन् कमजोर भएको छ । दुवै नेताबीच मिलन गराउन दोस्रो तहका नेता सक्रिय भएपनि सफल हुन सकेका छैनन् ।

संवादहीनतामा आइसब्रेक भएपनि ओली र नेपाल आ आफ्नै अडानमा छन् । ओलीले २३ सांसदको काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । तर, नेपालले त्यसलाई ठाडै अस्वीकार गरेका छन् । उनले प्रतिनिधि सभा विघटन फिर्तालगायत सच्चिनुपर्ने विषय राखेको बुझिएको छ ।

२३ सांसदको हस्ताक्षर फिर्ता लिने या नलिनेमा ओली र नेपालबीचको सहमति अड्किएको छ । दुवै टसमस नभएपछि फरक बाटोतर्फ बढ्ने निश्चितप्रायः भएको छ ।
आज अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकबाट विधान महाधिवेशन गर्ने निर्णय गराएर तयारीको जिम्मेवारी पनि आफूसहित चार नेतालाई तोकेका छन् । बैठकमा नेपाल समूह अनुपस्थित छ । यसलाई अवैधानिक भन्दै आएको छ ।

ओली केन्द्रीय कमिटी बैठकबाट नेपालविरुद्ध झन् आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले सोमबार साँझ ५ बजेसम्मको अल्टिमेटम दिएर हस्ताक्षर फिर्ता गर्न भनेका छन् । नगरे कारबाहीको निर्णय हुने तयारी समेत छ । नेपाल भने २३ सांसदको हस्ताक्षरलाई राजनीतिक अस्त्र बनाएर ओलीविरुद्ध आक्रामक बन्दै गएका छन् ।

कुनै हालतमा ओलीसँग नमिल्ने र सत्ताबाट हटाएरै छाड्ने रणनीतिमा नेपाल छन् । उनले त्यसका लागि देउवा र प्रचण्डसहितको गठबन्धन पनि बनाएका छन् । यसले एमालेभित्रको टकराव उत्कर्षमा पुग्दै गरेको देखिन्छ । सम्भवत आगामी हप्ता ओली र नेपालले लिने बाटो र एमालेको भविष्यको टुंगो लाग्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot