Logo

ओलीलाई हटाएरै छाड्ने अडानबाट नेपाल ब्याक नहुनेभएपछि एमाले औपचारिक फुटतर्फ



काठमाडौं, २० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएरै छाड्ने अडानका साथ बढेका वरिष्ठ नेता माधवकुमार नेपाल पछि नहट्ने भएका छन् । उनलाई ब्याक गराउन चौतर्फी दबाब सृजना गरिएपनि ओली सफल हुन सकेनन् ।

नेपाल पक्षकै केही नेताहरुमार्फत् उनीमाथि दबाब सृजना गर्न खोजियो । तर, नेपालले बरु राजनीतिबाट सन्यास लिने पछि नहट्ने अडान लिए । उनले कुनै हालतमा आफूसहित २३ सांसदको शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरबाट पछि नहट्ने जवाफ दिएका छन् ।

नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, घनश्याम भुसाल र भीम आचार्यलगायतका नेताहरु सहमतिको बिन्दु निकाल्न लागेका थिए । ओलीनिकट विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल पनि एकता बचाउन लागेका थिए । तर, नेपाल टसमस भएनन् । यसबाट उनी ओलीलाई सत्ताबाट हटाएरै छाड्नेतर्फ बढेको बुझिएको छ ।

ओलीले केन्द्रीय कमिटी बैठकबाट सोमबार साँझ ५ बजेसम्म २३ सांसदको हस्ताक्षर फिर्ताको अल्टिमेटम दिएका छन् । अल्टिमेटम दिएपनि नेपाल पछि नहट्ने स्पष्ट पारेका छन् । ओलीले शनिबारको बैठकमा अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमाले हुन नसक्ने बताइसकेका छन् । यसले पनि अब एमालेभित्र वार कि पारको अवस्था बनेको छ ।

सोमबार ओलीले कठोर निर्णय लिन सक्छन् । त्यसपछि एमाले फुट्ने अवस्था बन्ने देखिएको छ । अन्तिम समयसम्म एकता बचाउन नेताहरु लागेका छन् । तर, उनीहरु निराश भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot