काठमाडौं, २० असार । धर्मको मुद्दा नै मुख्य हुने गरी राजनीतिक घटनाक्रम विकास हुँदै गएको छ । अबको राजनीतिक ध्रुवीकरण पनि यही मुद्दाको आधारमा हुने संकेतहरु देखिएका छन् ।
२०७२ सालमा जारी संविधानमा हिन्दु राष्ट्र हटाएर धर्मनीरपेक्ष उल्लेख गरेपछि एकथरी राजनीतिक शक्ति निकै असन्तुष्ट थिए । यो बाह्य शक्तिको दबाबमा थोपरिएको भन्दै हिन्दु राष्ट्रका पक्षधरले सार्वजनिक रुपमा बोल्दै आएका थिए ।
हिन्दु राष्ट्रको मुद्दा उठाएर कमल थापा नेतृत्वको राप्रपाले दोस्रो संविधानसभामा समानुपातिकतर्फ २५ सिट जितेको थियो । तर, थापा नेतृत्वको तत्कालीन राप्रपा नेपालले संविधानसभाबाट संविधान जारी गर्दा फरक मतसहित समर्थन गरे । यसले उनको ‘हिन्दुराष्ट्र’को मुद्दा उठानमाथि नै प्रश्न उठ्यो । यद्यपि थापाले राजसंस्थासहितको हिन्दुराष्ट्रको मुद्दा उठाउँदै आएका छन् ।
संविधान जारी भएपछि नेपाली काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दा जोडतोडले उठ्यो । काँग्रेसभित्र खुमबहादुर खड्काले यसको नेतृत्व नै लिए । तर, भ्रष्टाचारको मुद्दामा जेल बसेर फर्किएका खड्काले मुद्दा उठाउँदा खासै प्रभावकारी हुन सकेन । उनको निधनपछि यो मुद्दालाई केन्द्रीय सदस्य शंकर भण्डारीले खुलेरै उठाउँदै आएका छन् ।
महामन्त्री डा.सशांक कोइरालाले धर्मको विषयमा विचार गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन् । यसबारे जनमतसंग्रहको विषय पनि उठाए । तर, उनी हिन्दुराष्ट्रको पक्षमा खुलेका भने छैनन् । कोइराला परिवारकै डा. शेखर कोइरालाले पनि हिन्दुराष्ट्रको मुद्दाप्रति लचिलो धारणा व्यक्त गरेका थिए । पछिल्लो समय उनले धर्मबारे खासै बोल्न छाडेका छन् ।
काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दा खुलेरै उठाउने प्रभावशाली नेतामा शंकर भण्डारी मात्र छन् । तर, पछिल्लो समय सभापति शेरबहादुर देउवाले हिन्दुत्वको मुद्दाप्रति लचिलो भएको संकेतहरु दिन थालेका छन् । उनकी पत्नी डा. आरजु देउवाले सामाजिक सञ्जालमा यज्ञ र पूजाहरुका तस्बिर र भिडियो राख्न थालेकी छिन् । देउवासहितको यस्तो तस्बिर राखेर उनले हिन्दुत्वको मुद्दामा लचिलो बनेको सन्देश दिइरहेकी छिन् ।
राप्रपा हुँदै नेपाली काँग्रेसमा प्रवेश गरेको हिन्दु राष्ट्रको मुद्दा अहिले कम्युनिस्ट पार्टीमा पनि फैलिइरहेको छ । यसको संकेत सत्तारुढ नेकपा एमालेमा धर्मनीरपेक्षतामाथि बहस हुनुपर्ने भन्दै महेश बस्नेतले राखेको माग प्रस्तावबाट देखिन्छ । एमालेभित्र हिन्दुत्वको मुद्दाले स्थान बनाउँदै लगेको छ ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दुत्वलाई अँगिकार गर्दै गएको सन्देश दिइरहेका छन् । अयोध्यामा राम मन्दिर निर्माण देखि पशुपतिनाथमा जलहरी चढाउने सम्मको कदम आफैमा सन्देश हो । त्यसमाथि ओलीले आध्यात्मिक प्रवचन नै भाषणमार्फत् दिने गरेका छन् । ओली एकातर्फ ऋषिमुनी नेपालमा जन्मिएको र राम पनि नेपालमै जन्मिएको भन्छन् अर्कोतर्फ हिन्दुत्वलाई जोडतोडका साथ उठाइरहेका छन् । यसलाई हिन्दु राष्ट्रवादलाई ओलीले एजेन्डा बनाउन लागेको आँकलन पनि गरिरहेका छन् ।
जनता समाजवादी पार्टीभित्र पनि हिन्दुराष्ट्रको मुद्दाले बलियो ठाउँ बनाइसकेको छ । जसपाको महन्थ ठाकुर पक्षधरका नेताहरु गेरुवस्त्रमा देखिन थालेका छन् । महन्थ ठाकुर सार्वजनिक कार्यक्रममा गेरुवस्त्रमा देखिन्छन् । अनिल झा, राजकिशोर यादवलगायत नेताहरु पनि त्यस्तै सिका गर्न थालेका छन् । चन्दा चौधरीको शक्तिपीठको दर्शनको तस्बिर सामाजिक सञ्जालमा आइरहन्छ ।
जसपाको उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षधर भने धर्मनीरपेक्षकै पक्षमा छ । उपेन्द्र यादवले धर्मबारे खुलेर बोलेका छैनन् । भट्टराईले भने धर्मनीरपेक्षता जोगाउनुपर्नेमा जोड दिदै आएका छन् ।
राजनीतिक दलभित्र फैलिइरहेको धर्मको मुद्दाले अबको चुनावमा ठूलो असर पार्ने देखिन्छ । हिन्दु राष्ट्र कि धर्मनीरपेक्ष भन्नेमा दलहरुभित्रै ध्रुवीकरण हुन थालेको छ । यसमा बाह्य शक्तिको पनि ठूलो चासो देखिदैछ ।
यतिबेला भारतमा भारतीय जनता पार्टी सत्तारुढ छ । हिन्दुत्वलाई भाजपाले अंगिकार गरेको छ । नेपालमा पनि हिन्दुत्वको एजेन्डाले महत्व पाओस् भन्ने उसको चाहना प्रकट हुँदै गएको छ ।
अर्कोतर्फ, नेपालमा धर्मनीरपेक्षता संविधानमा राख्न पश्चिमाहरुले भूमिका खेलेको विषय उठ्दै आएको छ । यसलाई जोगाउन उनीहरुको भूमिका हुनसक्छ ।
धर्मको मुद्दाले बाह्य शक्तिको भूमिका नेपालमा अझ बढ्न सक्ने देखिन्छ । त्यसै पनि आर्थिक र सुरक्षाको विषयमा भारत, चीन, अमेरिका र युरोपेली मुलुकहरुको चासो रहेकै छ । अब धर्मको मुद्दा जोडिएकाले नेपालमा बाह्य शक्तिको सक्रियता बढ्न थालेको छ ।