Logo

श्रमिक लैजान कोरिया सकारात्मक



काठमाडौं, असार २१। दक्षिण कोरियाको मानव संसाधन विभाग एचआरडी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली श्रमिक लैजाने विषयमा सकारात्मक देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजान विषयमा एचआरडी सकारात्मक भएको हो ।

विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इपीएसबाट दक्षिण कोरिया जान सबै प्रक्रिया पूरा गरी बसेका नेपाली श्रमिक एचआरडीले तयार गरेको निश्चित मापदण्ड पालना गरेर लैजाने विषयमा सकारात्मक देखिएको जानकारी दिए ।
कोरियाको एचआरडीसँग निरन्तरको छलफल र संवादपछि सकारात्मक देखिएको छ तर कोरिया प्रवेश गर्ने नेपालीले निश्चित मापदण्ड भने पालना गर्नुपर्ने सर्त उसले राखेको उनको भनाइ छ । महानिर्देशक दवाडीका अनुसार एचआरडीको पहिलो सर्त नियमित उडान खुला हुनुपर्नेछ ।

ईपीएसका सबै प्रक्रिया पूरा गरेर तयारी अवस्थामा रहेका श्रमिकले कोरिया प्रवेश गर्नका लागि कोरियाले तोकिएका स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । कोरिया पुगेपछि कोरिया सरकारले तोकेको होटल क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नुपर्ने पनि सर्त राखेको छ । महानिर्देशक दवाडीले होटल क्वारेन्टाइनमा बसेको खर्च भने श्रमिक आफैँले बेहोर्नुपर्ने भनिएको जानकारी दिए ।

यो निर्णय विभागले मात्रै गर्न नसक्ने भएकाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल गरेर टुङ्गोमा पुग्न मन्त्रिपरिषद्को निर्णय नै पर्खिनुपर्ने उनको भनाइ छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot