असार २१, काठमाण्डौ । सानो कमजोरीले पनि ठूलो रुप लिन्छ भन्ने उदाहरण काठमाण्डौ महानगरपालिकाले देखाएको छ । प्रसंग हो भित्तामा कोरिएको चित्र मेटेर विवादमा आएको घटना । रत्नपार्कको आकाशे पुलको पर्खालमा कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र बुधबार काठमाडौं महानगरपालिकाले मेटिदिएपछि यसको विरोध भइरहेको छ ।
जब देश महामारीको चपेटामा थियो । कोरोना महामारीका कारण धेरै जना घरैमा थुनिएको समयमा स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत अग्रपङ्क्तिमा खटिनुपर्ने पेशा व्यवसायमा संलग्न भएकाहरू भने कोरोनाविरुद्धको लडाइँ लडिरहेका थिए । देशभरीका अस्पतालहरुमा अक्सिजन र बेडको हाहाकार भइरहँदा स्वास्थ्यकर्मीले आफू बस्ने, बेञ्च तथा कुर्सीमासमेत संक्रमित राखेर उपचार गर्न बाध्य भए ।
तिनै ’फ्रन्टलाइनर’को सम्मानमा दुजाङ शेर्पाको परिकल्पनामा राजधानीको रत्नपार्कस्थित आकाशे पुलको भित्तामा कलाकारहरूले एक चित्र बनाए । चित्र बनाउनका लागि महानगरको वडा नं २८ बाट अनुमति समेत लिएका थिए । सामान्य प्रक्रियासमेत पूरा गरेर कोरिएको चित्र काठमाण्डौ महानगरपालिकाले गत बुधबार मेटिदियो । चार जना कलाकार र तीन जना स्वयंसेवकले ६ दिन लगाएर गत जेठ ३० मा निर्माण सकेको यो चित्र महानगरपालिकाले एकाएक मेटेपछि सर्वत्र आलोचना भइरहेको छ ।
आइतबार कलाकारहरुले पुनः चित्र कोर्न दिन माग गर्दै महानगरसमक्ष ज्ञापनपत्र बुझाइसकेका छन् । चित्रकलाको परिकल्पनाकार दुजाङ शेर्पाले स्वास्थ्यकर्मी लगायत कोरोना महामारी नियन्त्रणका लागि खटिएका बिरामीहरुको उपचार गरेकालाई उचित सम्मान र हौसला दिनुपर्ने भन्दै पुनः चित्र कोर्न दिन माग गरेका छन् ।
काठमाडौं महानगर भने ‘वाल पेन्टिङ’ लाई निषेध गरिएकोले मेट्नुपरेको तर्क गरेको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार त्यो निर्णय महानगरको नितिगत निर्णय भएकाले विरोध गर्नुको औचित्य नभएको र पुनः चित्र कोर्न नदिइने बताए ।
सबैले मन पराएको चित्रलाई नरुचाएको महानगरपालिकाले अन्य विभिन्न स्थानमा कोरिएका अनावश्यक चिक र राजनीतिक नारा लेखिएका भित्ताहरुतर्फ भने ध्यान दिन सकेको छैन । शहर कुरुप भएको भन्दै बारबार यस्ता चित्र मेटाएको महानगरले मनलाग्दी टाँसिएका पोस्टरहरू विज्ञापनको र पैसाको लोभमा होर्डिङबोर्ड र पोस्टरहरू हटाउन भने सकेको छैन ।
पोलपोलमा झुन्डिएका विजुलीका तारहरू पनि लथालिङ भेटिन्छन् । ११ साउन २०७५ मा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका लागि न्याय माग्दै सडकमा टाँसिएका पोष्टर पनि प्रहरी लगाएर च्यातिएको थियो, जब कि त्यही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीका तस्वीर बिजुलीका पोलमा झुण्ड्याइएका थिए ।
तर विभिन्न चेतनामुलक सन्देश प्रवाह गर्ने भित्तेचित्र भने मेट्ने हतारोमा देखिन्छ । महानगरले गर्नुपर्ने बिकास निर्माण र सुधारका काम थुप्रै छन । तर महानगरको ध्यान त्यता तिर जान सकेको छैन ।