काठमाडौं, असार २२ । स्वदेशी लगानीमा निर्माण भएको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीबाट ७६ मेगावाट उत्पादन सोमबारबाट औपचारिक रूपमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बालुवाटारबाट बटन थिची आयोजनाको उद्घाटन गरेका छन् ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोसीका ६ वटा युनिटमध्ये १ युनिटबाट ७६ मेगावट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनामा ७६÷७६ मेगावाटका ६ वटा युनिट छन् । भदौबाट पूर्ण रूपमा विद्युत् उत्पादन भएपछि नेपाल विद्युत्मा आत्मनिर्भरतर्फ लम्किनेछ ।
आयोजनाले पूर्णरूपमा विद्युुत् उत्पादन गरेपछि हिउँदमा बाहेक वर्षामा भारतबाट विद्युुत् आयात गर्न नपर्ने हुन्छ । हिउँदको समयमा भने निजी क्षेत्रका आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा नजोडिँदासम्म भारतबाट केही विद्युत् आयात गर्नुपर्नेहुन्छ । हाल नेपालले करिब ४ सय मेगावट विद्युत् भारतबाट खरिद गरिरहेको छ ।
२०६८ सालमा गोकर्ण विष्ट ऊर्जामन्त्री हुँदा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले आयोजनाको शिलान्यास गरेका थिए । शिलान्यासताका ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब नेपाल विद्युत् विकासको नयाँ युगमा प्रवेश गरेको बताए । ‘देशभित्रै बिजुली बढी खपत हुँदा बहुआयामिक लाभ प्राप्त हुन्छ,’ उनले भने, ‘तामाकोसीबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु भएपछि खाना पकाउन विद्युत्को प्रयोग बढाउने वातावरण पनि तयार हुन्छ ।’
उनले निर्माण अवधिको ब्याजतर्फ १८ अर्ब र लागत मात्रै १७ अर्ब गरेर ३५ अर्ब रुपैयाँ बढेको भन्दै तामाकोसी निर्माण गर्न लाग्ने लागतबराबरकै लागत बढ्नु दुःखको कुरा भएको बताए । यसबाट सिकेर भविष्यमा आयोजना कार्यान्वयन गर्नुपर्ने उनले बताए ।
आयोजनामा करिब ८५ अर्ब रुपैयाँ खर्च भएको आजको राजधानी दैनिकमा खवर छ ।