पोखरा, असार २२ । । यस वर्षका लागि रासायनिक मलको जोहो भए पनि बर्सेनि हुने मलको समस्याले सरकारलाई निश्चिन्त बनाउने अवस्था अझै छैन ।
मलको तत्कालीन अभाव टार्न सरकारले बङ्गलादेशबाट सरकार–सरकार (जीटुजी)बाट ५० हजार मेट्रिक टन मल ल्याइसकेको छ भने भारतबाट पनि जीटुजी सम्झौताबाटै ल्याउने तयारी गरिरहेको छ । यसका साथै मलको कारखाना खोल्ने कुरा आगामी आर्थिक वर्ष २०७८र७९ को बजेटमै राखेको छ । उता उत्तरी नाकाबाट पनि मल आउन थालेको छ ।
त्यसैले अब मलको हाहाकार नहुने कुरामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ढुक्क रहन सार्वजनिक अपिल पनि गर्दै आएको छ तर यो सिजनमा मात्र मल आउने र आगामी आर्थिक वर्षमा भने हाहाकार हुने सङ्केत आइसकेको छ । त्यही सङ्केत पाएर कृषि मन्त्रालयमा दिनहुँजस्तो छलफल हुन्छ ।
नेपालमा लगभग बर्सेनि पाँचदेखि छ लाख मेट्रिक टन रासायनिक मल खपत हुन्छ । सरकारी तथ्याङ्कअनुसार सबै बालीका लागि नेपाललाई ११ लाख मेट्रिक टन मल चाहिन्छ तर खुला सीमाका कारण किसानले केही मल आफैँ जोहो गर्दछन् । त्यसैले औपचारिक रूपमा करिब पाँच लाख मेट्रिक टन मलले काम चलिरहेको अवस्था हो ।
सरकारले आगामी आवका लागि मल किन्न १२ अर्ब विनियोजन गरेको छ । त्यो रकमले सोमबारको हिसाब गर्ने हो भने दुई लाख २५ हजार मेट्रिक टन मल मात्र आउने आजको गोरखापत्र दैनिकमा खवर छ ।