Logo

प्रतिगमन परास्त गर्न अझै सकिएको छैनः श्रेष्ठ



काठमाडौं, असार २२ । राष्ट्रियसभाको सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले संविधानको बाटोविपरीत प्रधानमन्त्री केपी ओली जाँदा मुलुक यतिबेला प्रतिगमन भाग दुईमा पुगेको बताएका छन्।

राष्ट्रिष्यसभाको बैठकमा बोल्दै नेता श्रेष्ठले प्रधानमन्त्री ओलीले एकपछि अर्को गरी प्रतिगामी कदम चाल्दै जाँदा प्रतिगमन र अग्रमनको द्वन्द्वसंघर्षबाट मुलुक गुज्रिएको बताए। उनले प्रतिगमन भाग दुई अन्तर्गत देखा परिराखेको र त्यसलाई परास्त गर्न नसकेको अवस्था रहेको बताए।

संविधानले एउटा बाटोमा लैजान उद्देश्य बोके पनि प्रधानमन्त्री केपी ओलीले व्यक्तिगत महत्वकांक्षाका कारण मुलुकलाई ठीकविपरीत दिशातर्फ लगेको उनले बताए। प्रधानमन्त्री ओलीले संविधानको नांगो उल्लंघन गरेर देशलाई भ्रष्टाचारको दलदलमा पुर्‍याएको उनको भनाइ थियो।

‘प्रधानमन्त्रीले मुलुकको हितको लागि भन्दा पनि आफ्नो व्यक्तिगत महत्वकांक्षा पूरा गर्न सत्ता लिप्साप्रति उद्धत हुनुभयो,’ उनले भने। त्यति मात्र होइन पार्टी र कम्युनिस्ट पनि सिध्याउने काम गरेको उनले बताए। कम्युनिस्ट सिद्धियोस् तर, म पद छोड्दिन भन्दै प्रधानमन्त्री कुर्सीमा टाँसिइरहेको उनले बताए।

‘सत्ता लिप्साका कारण प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्रविरुद्ध जाने काम गर्नुभयो भने व्यक्तिगत काममा विदेशी हस्तक्षेप आमन्त्रण गर्नुभयो र विदेशी हस्तक्षेप गर्ने प्रक्रिया अघि बढ्यो जसबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गराउनुभयो। विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरेर राष्ट्रिय स्वाधीनतामा गम्भीर धोखाधडी गर्नुभयो’ उनले भने।

‘उहाँको राष्ट्रियताको विषयमा जुन प्रकारको चर्चा थियो, त्यो धोका थियो र अहिले उहाँ आत्मसमर्पणवाद र लम्पसारवादमा पुगिसक्नु भएको छ भन्ने प्रष्ट भयो।’ उनले थपे, ‘अतिक्रमित भूभाग, इपिजीको प्रतिवेदन वार्ताको विषय नबन्ने तथा एकपछि अर्को गरेर आन्तरिक मामिलामा भएको हस्तक्षेपको प्रतिवाद नगरेर विदेशी हस्तक्षेप स्वीकार गर्ने मात्र होइन, आमन्त्रण गरेर राष्ट्रिय स्वाधीनतालाई गम्भीर संकटमा पुर्‍याउनु भएको छ, यो क्षम्य छैन। प्रधानमन्त्री विकासको आधारमा नवउदारवाद, भ्रष्टीकरण, दलाल पूँजीवादको दिशातर्फ जानु भएको छ,’ उनले भने, ‘राष्ट्रियताको रक्षा गर्न संविधान र लोकतन्त्रलाई क्रियाशील बनाउनुपदर्छ भन्ने मेरो मान्यता हो।’ नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्