काठमाडौं, २२ असार । मनकामना स्मार्ट लघुवित्तको आइपीओमा अन्तिम दिनसम्म माग भन्दा बढी आवेदन परेको छ । अन्तिम दिनसम्ममा आइपीओमा ७३ गुणा बढीको आवेदन परेको कम्पनीले जनाएको छ । आइतबार बेलुकासम्म साढे ५ बजेसम्ममा २० लाख ३६ हजार २ सय ४५ जना आवेदकबाट २ करोड ६५ लाख ७४ हजार ५० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा ७३.१० गुणा बढी हो ।
कम्पनीले ३ करोड ८९ लाख बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । प्रतिकित्ता १०० अङ्कित दरका ३ लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ । त्यसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
उक्त शेयर इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई असार ६ गते मात्रै सो मात्राको शेयर जारी गर्न स्वीकृति दिएको थियो । संस्थाले बोर्डले स्वीकृति दिएको ११ दिनको अवधिमै शेयर निष्काशन तथा बिक्री खुलाउने भएको हो ।