Logo

ताजा जनादेश नै अहिलेको समाधान हो, ढिलो/चाँडो नेपाल हिन्दूराष्ट्र बन्छ : कमल थापा (भिडिओसहित)



राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले आफ्नो पार्टी चुनावको पक्षमा रहेको स्पष्ट पारेका छन् । अहिले देशमा विभिन्न किसिमका विकृति तथा विसंगति देखिएको भन्दै यसको समाधानको लागि पनि ताजा जनादेशमा जानुपर्ने आफूहरुको धारणा रहेको थापाको भनाई छ । नेपाली रेडियो नेटवर्कबाट सोमबार प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधिन रहेकोले छिट्टै फैसला आउने पनि सुनाए । प्रस्तुत छ थापासँगको कुराकानीको सम्पादित अंश :

राष्ट्रिय प्रजातन्त्र पार्टी संसद् पुनःस्थापनाको पक्षमा छ कि चुनावको पक्षमा छ ?

अब सैद्धान्तिक रूपमा हामीहरु चुनावको पक्षमा छौँ । देशमा अहले जे/जस्तो विकृति तथा विसंगति देखिएका छन्, यसको समाधान ताजा जनादेश हो भन्ने हाम्रो पार्टीको मान्यता छ । जहाँसम्म संसद् विघटनको संवैधानिक प्रश्न छ । यो सर्वोच्च अदालतमा विचाराधिन छ । केही दिनभित्रै सर्वोच्च अदालतले फैसला गर्नेछ । सर्वोच्च अदालतले जुन फैसला दिन्छ, त्यो हाम्रो लागि स्वीकार्य छ ।

त्यसोभए तपाँईको पार्टी ताजा जनादेशको लागि जनताको बीचमा जानुपर्छ भन्नेमा छ ?

सिद्धान्त त अहिले देशमा देखापरेको विकृति र विसंगतिको एउटै मात्र विकल्प त्यही नै हो ।

पार्टीभित्र पनि त तपाईँहरुका मत त विभाजित छन् नि ?

अब त्यर्तो धेरै ठुलो मतभेत छैन । प्रजातान्तिक पार्टीमा बहस हुनु स्वभाविक हो । हामी मूलभत विषयमा एक ठाउँमा नै छौँ ।

कमल थापा निर्वाचनको पक्षमा अनि डा. प्रकाशचन्द्र लोहनी संसद् पुन ःस्थापनाको पक्षमा किन यस्तो भयो तपाईको पार्टीभित्र ?

त्यस्तो होईन । तीन जना अध्यक्षले सामूहिक रुपमा जुन वक्तव्य दिएका छौँ । त्यो वक्तव्यमा आफ्नो धारणा प्रष्ट रुपमा राखेका छौँ । अहिलेको विकृति र विसंगतिको समाधानको उपयुक्त विकल्प चुनाव हो । संवैधानिक विषय सर्वोच्च अदालतले व्याख्या गर्छ । त्यसमा हामी स्वीकार गछौँ भन्ने हाम्रो पार्टीको आधिकारिक धारणा हो ।

होईन, अहिले देशमा महामारी छ, देश संकटमा छ । जनता समस्यामा छन अनि निर्वाचन आजको आवश्यकत्ता हो र ?

निर्वाचन हुने त कार्तिक/मंसिरमा हो । त्यतिबेलासम्म बर्खाको समय त त्यहाँसम्म सकिहाल्छ । सबैभन्दा ठुलो समस्या भनेको कोभिड महामारी छ । यो कोरोना महामारीको निम्ति सरकारले उपयुक्त वातावरण तयार गर्नुपर्छ । खोप पनि ल्याएर आम जनातालाई लगाउनुपर्छ । र कोभिडलाई नियन्त्रण गरेको अवस्थामा मात्रै चुनाव हुनसक्ने हो ।

हाम्रो देशमा पाँच वर्ष सरकार चलाउन कसैले पाएका छैनन, यो सरकारले पाँच वर्ष चलाओस भन्ने जनताको चाहना छ, तपाँईँ पछिल्लो समय केपी शर्मा ओलीको पक्षमा किन लाग्नुभयो बताउनुहोस ?

केपी शर्मा ओलीको पक्षमा भन्दापनि हाम्रो पार्टी राष्ट्रिय राजनीतिमा अन्य पार्टीहरुभन्दा फरक विचार धारा बोकेको पार्टी हो । हाम्रो पार्टीको स्पस्ट धारणा छ । खासगरेर यो २०६२–०६३ को आन्दोलन छि जुन मार्गचित्र र जुन अवधारणाको आधारमा अगाडि बढाउन खोजियो, यो त्रुटिपूर्ण छ, यसमा सुधार हुनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता छ । र, अहिले जुन किसिमको देशमा संकट देखापरिराखेको छ, संवैधानिक संकट छ । देशमा ब्रम्हलुट छ, विदेशीको चलखेल तिब्र रुपमा बढिरहेको छ । बेरोजगारीको समस्या छ । यी सबै समस्या सिर्जना हुनुमा निश्चय पनि केही हदसम्म सत्तारुढ दल, राजनैतिक दलहरुको अकर्मण्यता त छँदैछ । त्यसको साथसाथै यो बाटो नै गलत छ भन्ने हाम्रो पार्टीको मान्यता हो । त्यसकारण यो बाटो सुधार्ने क्रममा ताजा जनादेश नै उपयुक्त हुन्छ भन्ने दृष्टिकोण राखेर हामीले यो ताजा जनादेशको कुरा राखेका हौँ ।

तपाईँको पार्टी सरकारमा जाने भन्ने कुरा पनि एकपटक चर्चामा थियो, प्रधानमन्त्री ओलीले चालेको कदममा तपाईँको पूर्ण सर्मथन हो त ?

केपी ओलीको नेतृत्वको सरकारमा मात्रै होईन, यसभन्दा अगाडिका सरकारले गरेका राम्रा कामहरुका्े सर्मथन गर्ने, गलत कामको विरोध गर्ने हाम्रो नीति रहँदै आएको छ । यो नीतिलाई हामीले अगाडि बढाएका छौँ । केपी ओलीजीले खासगरेर राष्ट्रियताको सवालमा पछिल्लो कालखण्डमा मू रूपमा नेपालको पश्चिम सिमानामा रहेको लिम्पियाधुरा, कुटीलगायतलाई समेटेर नेपालको नयाँ नक्सा बनाउनुभयो । नेपालको आफ्ना दावि सशक्त ढंगबाट प्रस्तुत गर्नुभयो । त्यसलाई मैले अत्यन्तै सकारात्मक रुपमा लिएको छु हेर्नुहोस् । त्यो एउटा ऐतिहाँसिक काम नै हो । त्यसैगरि हाम्रो तराई÷मधेश क्षेत्रमा देशलाई टुक्रा बनाउनुपर्छ भनेर लागेका सिके राउतलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनको लागि उहाँ जसरी सफल हुनुभयो । त्यसलाई मैले सकरात्मक रुपमा लिएको छु । त्यसमा अन्य कतिपय विषयहरु छन । भ्रष्टाचारका विषयहरु छन । कोभिड महामारीको विषय छन । विकास निर्माणसंग सम्बन्धित अन्य विषयहरु छन । त्यसमा हामी आलोचनात्मक रुपमा प्रस्तुत भैराखेकै छौँ ।

पछिल्लो समय नेपालमा धर्मनिरपेक्षताको विरोध भैरहेको छ, यहाँको धारणा के हो ?

जहाँसम्म हर्नुहोस् संघीयता, धर्मनिरपेक्षता र गणतनत्रको विषय छ । यो विषयमा वैचारिक रुपमा यसको विरुद्धमा छौँ । यो कुरा मैले लुकाईराख्नुपर्ने जरुरी छैन । खास गरेर यी विषयहरुमा अहिले विभिन्न राजनैतिक दलहरुमा बहसको विषय बन्न गएको छ । यसलाई मैले सकरात्मक रुपमा लिएको छ । चाहे त्यो एमालेभित्र होस् चाहे त्यो काग्रेसभित्र होस् । अहिले जुन संघियता, धर्म निरपेक्षताको विकल्पमा पनि हामी सोच्नुपर्दछ भन्ने बहस चलिरएको छ । त्यो अत्यन्तै प्रसंशनीय छ । किनकी त्यो १४ बर्ष अगाडिदेखि नै भन्दै आएको कुरा हो । अब बीचमा कसैले त्यसलाई सुनेन, त्यसलाई यो कुरा तपाईँलाई पनि थाहा छ कि हामीले यो संघीयता र धर्मनिरपेक्षताको विरोध गरेर जनताको माँझमा जाँदाखेरि हामीमाथि आक्रमण भयो । ज्याननै हत्केलामा रहेको अवस्था थियो । तर, अहिले विस्तारै त्यो मान्यताप्रति जनताको आकर्षण पनि बढ्दै आएको छ । यो १२–१४ वर्षको अभ्यासले पनि हाम्रा मान्यताहरुलाई पुष्टि गरेको छ । र, त्यही कुरा अहिले राजनैतिक दलहरुमा बहसको विषय बन्नु प्रशंसनीय छ । म त प्रष्ट रुपमा भन्छु–हेर्नुहोस के भने हामीले ढिलो गर्नु हुदैँन, यो संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको विषयलाई पुनर्विचार गर्नुपर्दछ ।

महेश बस्नेतले त आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठकमा संघीयता र धर्मनिरपेक्षताबारे विचार गरियोस भनेर प्रस्ताव नै राख्नुभएको छ र पार्टीले स्वागत पनि गरेको छ ?

यो अहिले बहसको विषय छ । जबसम्म नेकपा एमालेले औपचारिक रुपमा यसको विषयमा निर्णय गर्दैन्, तबसम्म मैले भन्न त मिल्दैन् । जसरी अहिले नेकपा एमालेमा पनि यो विचारको प्रवेश भएको छ, नेपाली काँग्रेसमा पनि एउटा ठुलो जमातले हिन्दुराष्ट्रको पक्षमा वकालत गरिएको छ । त्यसलाई पनि मैले सकारात्मक रुपमा लिएको छु । बास्तवमा यो एउटा राष्ट्रिय आवश्यकता नै हो । यो संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको जुन एजेण्डा उठान भएको छ, हुन त यसको राष्ट्रिय संवाहकको रुपमा देखिएको छ, तर मूल रुपमा यो बाहृय शक्तिकै एजेण्डा हो । यसको विश्लेषण गर्दै यसको जरासम्म पुग्ने हो भने यो नेपाली जनताको चाहना र आवश्यकताको विषय नै थिएन । यो विभिन्न कारणले गर्दा बाहृय शक्तिले यो एजेण्डा नेपालमा स्थापित गर्न खोजे । नेपालमा यसलाई स्थापित गर्नको निम्ति उनीहरुलाई संवाहकको आवश्यकता थियो, तिनीहरुले केही राजनैतिक दलहरुलाई र नेताहरुलाई प्रोत्साही गरे । यो रोग, भोक निराकरण र पछौटेपनको आधार हो भन्ने कुरा गरेपछि केही जनता केही समय अल्मल्लिएका हुन् । अब त्यो कुरा बुझिसके जनताले र त्यो कुरा प्रष्ट हुँदै गएको छ ।

त्यसोभए अब हाम्रो देश नेपाल हिन्दुराष्ट्र बन्छ ?

ढिलो/चाँडो हिन्दुराष्ट्र बन्छ, बनाउनुपर्छ । हामीले यो हिन्दूराष्ट्र बनाउनुपर्छ भनेर राज्यले हिन्दुराष्ट्रलाई मात्रै बढावा दिनुपर्छ भनेको होईन । सनातन हिन्दु मान्यता यस्तो मान्यता हो, जो बहुलवादमा विश्वास गर्दछ । अरु धर्म र संस्कृतिको अस्तित्व स्विकार गर्दछ । यो आँफैमा अर्थात् बहुलवादी मान्यता भएको हुनाले नेपाल हिन्दुराष्ट्र हँुदाखेरि अन्य धर्ममाथि थिचोमिचो हुने पनि होईन । अन्य धर्म र सम्प्रदायमा रहेकाहरुले आफ्नो पुजा, आरधना आफ्ना आस्था कायम राख्ने कुरामा कहीँपनि अबरोध हुने होईन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot