काठमाडौं, २२ असार । सरकारमा हुँदा विवादै विवादमा परेका ईश्वर पोखरेलको चलखेल सरकारबाट बाहिरिएपछि पनि रोकिएको छैन । सुरुमा ओम्नीसँगको साँठगाँठ र पछि नेपाली सेनामार्फत स्वास्थ्य सामाग्री खरिद गरी कमिसनका कारण विवादमा तानिएका उनी अहिले पनि स्वास्थ्य क्षेत्रका ठेक्काहरुमा सक्रिय छन् ।
कोभिड–१९ केन्द्रीय अस्पताल वीर अस्पतालको ठेक्कामा उनकै चलखेल रहेको प्रष्ट भएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमसँग मिलेर उनले चलखेल जारी राखेका छन् । जसअनुसार करिब १५ करोड रुपैयाँको ठेक्का म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिलाई दिलाइएको छ । भेन्टिलेटर र प्यासेन्ट मोनिटर ठेक्का पोखरेल र डा गौतमका निकट सुन्दर भुसाललाई दिइएको छ । स्पेसिफिकेसन नै सो कम्पनीलाई मिल्नेगरी बनाएर ठेक्कामा अनियमितता भएको स्रोतले जानकारी दिएको हो ।
यसअघि स्वास्थ्यसम्बन्धि खासै काम नगरेको म्याक्सिमलाई एकै पटक १२ करोड ४३ लाख रुपैयाँको भेन्टिलेटर खरिदको ठेक्का दिएका दिइएको छ । त्यस्तै, दुई करोड ७६ लाखको प्यासेन्ट मोनिटर खरिदको ठेक्का समेत सोही कम्पनीलाई दिइएको छ ।
यसका लागि सुरुमा बायो मेडिकल इन्जिनियरको सेटिङ गरिएको थियो । विगतमा म्याक्सिम कम्पनीमै कार्यरत बायो मेडिकल इन्जिनियर भावना बराललाई वीर अस्पतालमा नियुक्ति गरेर स्पेशिफिकेसनमा चलखेल भएको थियो । खरिद इकाइ प्रमुख भगवती थपलिया र श्याम विकलगायतलाई समेत यसमा सेटिङ मिलाइएको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले् समेत छानबिन सुरु गरिसकेको छ ।
म्याक्सिमका मालिक सुन्दर भुसाल अध्यक्ष रहेको क्यानभास कलेजमा डा. गौतमको तीन हजार थान सेयर रहेकोमा हालै डा गौतमले सो शेयर भुसाललाई नै बिक्रि गरेका थिए । त्यस्तै, ग्यालेक्सी इन्भेष्टमेन्ट कम्पनीमा गौतम र भुसाल दुवैको लगानी छ । यूनिफाइड अस्पतालमा हाल कोभिड उपचारका नाममा लुट्ने काम मात्र भइरहेको कर्मचारीहरु बताउँछन् ।
ईश्वर पोखरेल लगायत उच्च तहको राजनीतिक संरक्षण भएपछि यसरी महामारीको बेला भ्रष्टाचार मौलाएको हो । यसअघि खोप खरिदमा समेत कमिसनको चलखेल भएको प्रष्ट भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट एक समूह सांसद किन्न र चुनाव खर्चका लागि भनेर ठूलो रकम उठाउने धन्दामा सक्रिय रहेको छ । महामारीलाई नै सरकारले खर्च उठाउने अवसर बनाएको छ ।-दृष्टिबाट/File Photo