Logo

वाणिज्य बैंकले उठाए ऋणपत्रबाट ८५ अर्ब



काठमाडौं, असार २३ । दीर्घकालीन स्रोत जुटाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई अनिवार्य रूपमा ऋणपत्र (डिवेञ्चर) जारी गर्न निर्देशन दिएपछि हालसम्म २३ ओटा वाणिज्य बैंकले यसबाट स्रोत संकलन गरेका छन् ।

बैंकहरूले हालसम्म रू। ८५ अर्ब ३४ करोड बराबरको ऋणपत्र विक्री गरेर ६ देखि १० वर्षसम्मका लागि स्रोत जुटाएका हुन् । यो बैंकहरूको कुल चुक्ता पूँजीको ३० दशमलव ६४ प्रतिशत हो । राष्ट्र बैंकको वैशाखसम्मको तथ्यांकअनुसार यी २३ ओटा बैंकहरूको कुल चुक्ता पूँजी रू। २ खर्ब ७८ अर्बको हाराहारीमा रहेको छ ।

केन्द्रीय बैंकको नीतिगत व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले आफ्नो चुक्ता पूँजीको न्यूनतम २५ प्रतिशत बराबर पूँजी अनिवार्य रूपमा ऋणपत्र जारी गर्नुपर्छ । निक्षेपको अवधि छोटो हुने भएकाले ब्याजदरमा अस्थिरता देखापर्ने गरेको छ । यसलाई कम गर्न बैंकहरूलाई दीर्घकालीन स्रोतको आवश्यकता पर्छ । त्यसकै लागि राष्ट्र बैंकले ऋणपत्र अनिवार्य गरेको हो ।

बैंकहरूले यस्तो ऋणपत्र २०७९ असार मसान्तभित्र जारी गर्नुपर्ने व्यवस्था छ । यो सीमा पूरा गर्न अझै १ वर्ष बाँकी छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये मेगा बैंक, सेञ्चुरी, सिभिल र स्ट्यान्डर्ड चार्टर्ड गरी ४ बैंकले ऋणपत्र जारी गर्न बाँकी छ । सिभिल र सेञ्चुरी बैंकले ऋणपत्र निष्कासन गर्न आवेदन दिएका छन् ।

सरकारी स्वामित्वका नेपाल बैंकले गत वैशाख २२ गतेदेखि साढे ३ अर्ब रुपैयाँ बराबरको वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले गत जेठ २५ गतेदेखि २८ गतेसम्म साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री गरेको छ ।

हालसम्म ११ ओटा वाणिज्य बैंकले न्यूनतम ऋणपत्र विक्री गरिसकेका छन् । आर्र्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot