Logo

एमाले एकता सहमतिनजिक



काठमाडौं, असार २४ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधान भई पार्टी एकजुट हुने संकेत देखिएको छ । बुधबार विवाद समाधान गर्न गठित उच्चस्तरीय कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो संवाद र कुराकानी भएको छ ।

होटल मेरियटमा भएको छलफलमा दुई नेताबीच मन माझामाझ भएपछि एमाले अब एकजुट हुने संकेत देखिएको हो । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विचार र सिद्धान्तमा मतभेद नभए पनि उनीहरू दुईमा देखिएको व्यक्तिगत टकरावका कारण पार्टी फुटको सँघारमा पुगेको थियो ।

तर दुवै पक्षको सहमतिमा बनाइएको युवा नेताहरू सम्मिलित कार्यदलले ओली र नेपाललाई विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन उच्च दबाब दिएपछि ओली र नेपाल पार्टीको विवाद समाधान गर्न तत्पर देखिएका हुन् । कार्यदलका सदस्यसँग दुवैको सामूहिक भेटघाट र छलफल भएपछि ओली नेपाल ‘वान टु वान’ वार्तामा बसेका थिए ।

वार्ताबाट सहमति गरी पार्टी एकजुट भएको सन्देश दिने गरी वक्तव्य निकाल्ने प्रयास भए पनि त्यसलाई बिहीबार अन्तिम रूप दिने सहमति भएको जनाइएको छ । ओली र नेपालबीच विभिन्न विषयमा छलफल भए पनि बुधबार नै सहमति भने जुट्न सकेन । यद्यपि, विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन दुवै नेताहरू लचक देखिएको एमालेका दोस्रो तहका नेताहरूको भनाइ छ ।

पार्टीभित्रको विवाद समाधानका लागि बुधबार बसेको कार्यदलको बैठक सहमतिनजिक पुगेको र पार्टी शीर्ष नेतासँग छलफल गरेर बिहीबार अन्तिम रूप दिने भएका छन् । यसअघि सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवादित विषयमा सहमति जुटाउने सार्थक प्रयास गरेको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्