Logo

असार मध्यमा ह्वात्तै बढ्यो निक्षेप



काठमाडौं, असार २४ । दोस्रो लहरको कोभिड शुरू भएदेखि निक्षेप संकलनमा उतारचढाव आए पनि चालू आर्थिक वर्षको असार मध्य अर्थात् तेस्रो सातामा आएर वाणिज्य बैंकहरूको निक्षेप ह्वात्तै बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार असार तेस्रो साता मात्रै निक्षेप संकलन  ४७ अर्ब रुपैयाँले वृद्धि भएर कुल निक्षेप ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । प्रायः असार मसान्त नजिकिएसँगै सरकारको भुक्तानी बैंकिङ प्रणालीमा आउने भएकाले पनि निक्षेप संकलन ह्वात्तै बढ्ने गरेको छ ।

गत वैशाख १६ यता मुलुकका विभिन्न ठाउँमा निषेधाज्ञा जारी भएपछि निक्षेप संकलनमा पनि उतारचढाव आएको पाइन्छ । असार पहिलो सातापछि निषेधाज्ञा केही खुकुलो बनाउन थालेकाले अर्थतन्त्र पुनः चलायमान हुन थालेको र बैंकिङ प्रणालीमा पनि निक्षेप संकलन बढ्न गएको बैंकरहरूको भनाइ छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको असार पहिलो साता निक्षेप वृद्धि शून्य थियो । तर, दोस्रो साता ८ अर्बले थपिएर कुल निक्षेप ३९ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको थियो ।

पछिल्लो समयको वृद्धिको तुलनामा यसअघिका २ महीनाको मासिक निक्षेप वृद्धि कम देखियो । जेठ महीनामा ३६ अर्बले मात्रै निक्षेप थपिँदा कुल निक्षेप ३९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको थियो । गत वैशाखमा ११ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot