Logo

महिलालाई कम्बोडियामा बेच्ने पक्राउ



काठमाडौँ, २४ असार: नेपाली महिलालाई भारतको बाटो हुँदै कम्बोडिया लगेर बेच्ने एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आकर्षक तलबसहित जागिर लगाईदिने प्रलोभनमा पारी नेपाली महिलालाई काठमाडौँबाट काँकडभिट्टा भएर भारतको आसाम, नागाल्याण्ड, मनिपुर, म्यानमार, थाइल्याण्ड हुँदै कम्बोडिया लगेर बेच्ने धनकुटा शहीदभूमि गाउँपालिका–२ का ३७ वर्षीय किसान राईलाई असार १२ गते धनकुटाबाट पक्राउ गरी आज काठमाडौँमा सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले कन्सट्रक्सन र व्यापारको काममा रोजगार हुने गरी रु चार लाख ५० हजार भिसा खर्चमा कम्बोडिया पठाइदिने भन्दै त्यति नै रकम लिएर महिलालाई ठगी गर्नुका साथै बेचबिखन गरेको जानकारी दिए । अभियुक्त राईले मासिक रु एक लाख आम्दानी हुने भन्दै ४५ जना महिला तथा पुरुषलाई कम्बोडिया लगेर अलपत्र पारेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता द्विवेदीले बताए । राईलाई जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

पक्राउ राईलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान तथा कारवाही हुनेछ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot