काठमाडौं, २५ असार । ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको बलात्कार नभएको पुष्टि भएको छ । उनको पोष्टमार्टम रिपोर्टमा बलात्कार नभएको देखिएको खुलेको छ।
पोष्टमार्टम रिपोर्टमा शरीरमा कुनै किसिमको चोट पटक नदेखिएको तर दायाँ हातमा ब्लेडले थोरै काटिएको तर बलात्कार नभएको केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी धिरज प्रताप सिंहले बताए । सुजिताको शवको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिंदा शरीरमा ब्लेडले हातमा चिरेको बाहेक कतै चोटपटक देखिएको छैन ।
डिआईजी सिंहले भने,“कसैले गर्भवती छ भन्ने भनिरहेका थिए, तर त्यस्तो केही छैन ।” पोष्टमार्टम रिपोर्ट आएको तर अहिले हेर्न भने नमिल्ने बताए। पोष्टमार्टमबाट सुजिताको ‘हाइमेन नच्यातिएको’ भेटिएको डिआईजी सिंहले बताए । उनले भने,“हाइमेन च्यातिएको छैन, रिपोर्टसँगै सुजितामाथि बलात्कार नभएको पुष्टि भएको छ ।
भि–सेरा परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नास्ट०मा पनि पठाइएको छ ।” भि–सेरा परीक्षणबाट विष खाएको वा नखाएको पत्ता लाग्ने उनको भनाइ छ । चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव २० असारको साँझ भेटिएको थियो । असार ११ मा विहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यही दिन दिउँसो दिदीलाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएकी थिइन् ।
पोष्टमार्टम रिपोर्टसँगै घटना झन् रहस्यमयी बनेको छ । उनको हत्या भएको दाबीमा समेत आशंका छ । प्रहरीले मृतकको शव नजिकै बोतलमा सेतो पद्धार्थ भेटिएको र त्यसबारे पनि अनुसन्धान गरिरहेको छ ।-चितवनबाट नारायणी अनलाइनको सहयोगमा