Logo

सुजिताको हत्या कि आत्महत्या ?



काठमाडौं, २५ असार । चितवनकी सुजिता भण्डारीको रहस्यमयी मृत्युको यथार्थ चाँडै खुल्ने भएको छ । प्रहरीले त्यसबारे वृस्तृत अनुसन्धान गरी सार्वजनिक गर्ने भएको छ ।

चितवन प्रहरी र सीआइबीले घटनाबारे अनुसन्धान गरिरहेको छ । सुजिताको शवको पोष्टमार्टम समेत भइसकेको छ । सीआइबीले बलात्कार नभएको रिपोर्टले देखाएको खुलाएको छ । उनको हातमा ब्लेडले काटेको बाहेक कुनै चोटपटक या आक्रमण पनि नदेखिएको बुझिएको छ ।

अपहरण गरी बलात्कार भएको हुनसक्ने आशंका गरिएकोमा बलात्कार पुष्टि भएन । अपहरण भएकोमा पनि आशंका गरिएको छ ।

प्रहरी स्रोतका अनुसार सुजिताको अपहरण पुष्टि गर्न सक्ने आधार मिलेको छैन । उनकी दिदीलाई फोन गरी अपहरणमा परेको बताएकी छिन् । तर, पुष्टि गर्ने आधार प्रहरीले फेला पार्न सकेको छैन ।

सुजिताको शवको नजिकै बोतल र त्यसभित्र सेतो पद्धार्थ फेला परेको थियो । त्यो विष हुनसक्ने आशंका पनि थियो । उनले विष सेवन गरी छटपटिएर ब्लेडले हात काटेको हुनसक्नेतर्फ पनि अनुसन्धान भइरहेको बुझिएको छ ।

विष सेवन गरेको व्यक्ति पीडामा छटपटिन्छ । उसले नाडी काट्न खोज्छ । यो पुष्टि भयो भने सुजिताले आत्महत्या गरेको प्रमाण बलियो हुन्छ ।

सुजिताको परिवारले हत्या भएको बताउँदै आएको छ । दोषीमाथि कारबाहीको माग गर्दै आएको छ । यसले पनि प्रहरीमाथि निकै दबाब छ । स्थानीय सडकमा आएर दिनहुँ राजमार्ग अवरुद्ध गर्दै आएका छन् । प्रहरी अनुसन्धान प्रभावित हुने खतरा यसकारण पनि छ ।

२३ वर्षीया सुजिता भण्डारीको शव २१ असारमा फेला परेको थियो । ब्रम्हस्थानी सामुदायिक वनमा फेला परेको शव गलेको अवस्थामा थियो । ११ असारबाट सुजिता हराएकी थिइन् । उनी सोही दिन विहान ६ बजे साथीको घरमा जान हिंडेकी थिइन् ।

नौ बजे फोन गर्दा झण्डै ११ बजेसम्म सुजिताको फोन अफ भएको उनकी दिदी कविता भण्डारीले बताएकी थिइन् । ११ बजेतिर आफूले फोन गरेको सुनाएकी थिइन् । दिदीले भनेकी थिइन्,‘दिदी मलाई यस्तो यस्तो गर्यो भन्दै बहिनीले रुदै भनी ।’

सुजिताको फोन ११ असारमा अफ भएपछि ट्रयाक गरेको थियो । ट्रयाक गर्दा पनि सुजिताको बारेमा केही पत्ता लागेको थिएन । पूर्वी चितवनको राप्ती नगरपालिका घर भएकी सुजिता बुद्धशान्तिमा स्नातक चौंथो वर्षमा अध्ययनरत थिइन् । उनीसँग नजिकको सम्बन्ध रहेकाहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एक सयभन्दा बढीसँग सोधपुछ गरिसकिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्