काठमाडौं, २५ असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २६ जना पुरुष, १५ जना महिला, ५ जना बालक र ५ जना बालिका रहेको प्रहरीले जनाएको छ ।
तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा ३ र ३ जना, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा २र२ जना, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १र१ जना रहेका छन् ।
पछिल्लो २४ घण्टाभित्र मृत्यु भएकामध्ये दार्चुलामा ३ जना, पाल्पामा २ जना तथा तनहुँ र दाङमा १र१ जना गरी जम्मा ७ जना रहेका छन् ।
बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ७१ जना घाइते भएका छन् । तीमध्ये ३६ जना पुरुष, १९ जना महिला, ११ जना बालक र ५ जना बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा १० जना, पाल्पामा ७ जना, धादिङमा ६ जना, सिन्धुपाल्चोक र रोल्पामा ५र५ जना, धनुषा र सर्लाहीमा ४र४ जना, खोटाङ, कास्की, म्याग्दी र डोटीमा ३र३ जना, जुम्ला, चितवन, दाङ, दार्चुला र गोरखामा २र२ जना, पाँचथर, संखुवासभा, रौतहट, स्याङ्जा, हुम्ला, अछाम, बाजुरा र सल्यानमा १र१ जना रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ ।
प्रहरीको अनुसार बाढीपहिरोमा परी २९ जना बेपत्ता भएका छन् । तीमध्ये १९ जना पुरुष, ६ जना महिला, ३ जना बालक र १ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना, पर्वत र तनहुँमा २ जना तथा बाजुरा र बाग्लुङमा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीपहिरोमा परेका १ हजार २ सय ६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६ जना, चितवनमा ४ सय २ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, दोलखामा ३५ जना, नवलपरासी (पूर्व) १८ जना, लमजुङ र सल्यानबाट ८ र ८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४र४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् । उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगेको प्रहरीले जनाएको छ ।
बाढीपहिरोको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरी समेतको पहलमा सुचारु गराइएको छ । साथै वर्षाको कारण चितवन, बाजुरा, प्युठान, म्याग्दी र सिन्धुली लगायतका स्थानहरुमा बिहीबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी छ ।
बाढीको कारण १ हजार ५ सय १६ वटा घर डुबानमा परेका छन् । ५ सय ६४ वटा घर, ९९ वटा गोठ, ४२ वटा पुल, ३ वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ८ सय ५९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा ५ सय ३९ वटा विपद्का घटनाबाट १ हजार १ सय ५८ वटा घर परिवारका ५ हजार ४ सय २३ जना मानिस विस्थापित भएका छन् ।
उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।