Logo

नेपाली कार्गो रेल भारतमा पनि चल्ने



काठमाडौं, असार २६ । कार्गो ढुवानीका लागि नेपाली रेल भारतमा समेत सञ्चालन गर्ने बाटो खुला भएको छ । शुक्रबार नेपाल र भारतबीच संशोधित रेल सेवा सम्झौताको लेटर अफ एक्सचेन्जमा सहमति जुटेसँगै पारवहनका लागि नेपाली रेलले वीरगञ्ज र विराटनगरदेखि कोलकाता÷हल्दियासम्म रेल सेवा दिनसक्ने भएको हो ।

सम्झौतामा नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेलले भारतमा समेत कार्गो सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए । सम्झौतामा नेपालका तर्फबाट सचिव भट्टराई र भारतका तर्फबाट भारतीय रेलवे बोर्डका एडिसनल मेम्बर सुशान्तकुमार मिश्राले हस्ताक्षर गरेका छन् ।
शुक्रबार लेटर अफ एक्सचेन्जमा सहमति हुनुपूर्व नै नेपालका तर्फबाट असार १४ गते नै संशोधित सम्झौता पेस भएको थियो । त्यस्तै भारतले असार १५ गते उक्त सम्झौतामा हस्ताक्षर गरेको थियो । शुक्रबार एक भर्चुअल कार्यक्रममार्फत दुवै तर्फबाट हस्ताक्षर गरिएको पत्र आदानप्रदान भएको हो ।

सचिव भट्टराईका अनुसार रेल सेवा सम्झौताले विभिन्न ५२ वटा प्रावधान संशोधन गरेको छ । त्यसमध्ये दुई देशबीच निर्बाध रूपमा कार्गो ढुवानीका लागि रेल सञ्चालन गर्ने महत्वपूर्ण विषयमा संशोधन गरिएको उनको भनाई छ । संशोधनअनुसार नेपालबाट तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय निजी क्षेत्रको रेल सेवासमेत उपयोग गर्न सकिनेछ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot