Logo

राष्ट्रपति मोइसको हत्यापछि हैटीले गुहार्यो अमेरिका र राष्ट्रसंघसँग सैन्य सहयोग



एजेन्सी, २६ असार: राष्ट्रपति जोभेनेल मोइसको हत्या भएपछि हैटीले मुख्य भौतिक पूर्वाधारहरुको सुरक्षाका लागि अमेरिका र राष्ट्रसंघसँग सहयोग मागेको छ । हैटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघलाई पत्र पठाएको हो । तर, अमेरिकाले अहिलेको समयमा सैन्य सहयोग दिने कुनै योजना नरहेको बताएको छ ।

हैटीमा विदेशी सेना पठाउने कुनै पनि योजनाका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकले स्वीकृति दिनुपर्ने हुन्छ । यसअघि हैटी प्रहरीले २८ जना अमेरिकी र कोलम्बियालीको जत्थाले मोइसको हत्या गरेको जनाएको छ । प्रहरीले कोलम्बियाली पासपोर्ट र हतियार समेत बरामद गरेको खुलाएको छ ।

२८ जनाको जत्थामध्ये १७ जना पक्राउ गरिएको र ३ जना मारिएको हैटी प्रहरीले जनाएको छ । ती मध्ये १५ जना कोलम्बियाली र २ जना अमेरिकी नागरिक छन् । ८ जना को खोजी भइरहेको उल्लेख छ । कोलम्बियाका रक्षामन्त्री डियगो मोलानोले सुटरहरुको जत्थामध्ये ६ जना कोलम्बियाली रहेको खुलाएका छन् ।

उनले सुटरहरु कोलम्बियाका पूर्वसैनिक रहेको जानकारी दिएको अलजजिराले जनाएको छ । हैटीका प्रहरी प्रमुख चाल्र्सले सुटरहरुलाई भाडाका टट्टुको संज्ञा दिएका छन् । अमेरिकाले भने आफ्ना नागरिक हत्या अभियोगमा पक्राउ परेकोबारे स्पष्ट पारेको छैन ।अमेरिकी लागूऔषध नियन्त्रणसम्बन्धी फौजको छद्मभेषमा राष्ट्रपति मोइसको निजी निवासमा प्रवेश गरेको दस्ताले हत्या गरेको थियो ।

५३ वर्षीय राष्ट्रपति मोइस र उनकी पत्नी मार्टिन मोइसमाथि निजी निवासमै आक्रमण भएको थियो । हतियारधारी समूहले बुधबार मोइसको हत्या गरेको थियो । उनकी पत्नी भने घाइते अवस्थामा अस्पतालमा छिन् ।राष्ट्रपतिको हत्या पछि अहिले संकटकाल घोषणा गरिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot