Logo

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आजै आउने सम्भावना, देउवालाई प्रधानमन्त्री बनाउनको लागि राष्ट्रपतिको नाममा परमादेश जारी होला त ?



काठमाडौं, २८ असार । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आजै आउने सम्भावना रहेको छ । यसअघि असार २१ गते उक्त मुद्दामा सुनुवाई सकिएको थियो । र, संवैधानिक इजलासले आजको लागि पेशी तोकेको थियो । सर्वोच्च अदालतनिकट उच्च स्रोतकाअनुसार उक्त मुद्दामा आजै फैसला आउने सम्भावना छ । फैसला लेख्नको लागि संवैधानिक इजलासमा रहेका न्यायाधीश ईश्वर प्रसाद खतिवडालाई जिम्मेवारी दिईएको पनि स्रोतको भनाई छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरियोस भनेर १४६ जना प्रतिनिधिसभा सदस्यहरुले सशरिर सर्वोच्च अदालतमा हस्ताक्षरसहित रिट हालेका थिए । रिट निवेदकहरुको तर्फबाट बहसमा उत्रिएका कानून व्यवसायीहरुले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नेगरि राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा परमादेश जारी गर्नुपर्ने धारणा राखेका थिए । कतिपयले आजको फैसलामा सोहीअनुसार परमादेश आउने पनि दाबी गरिरहेका छन् ।

स्रोतले भन्यो,‘प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज फैसला आउँछ, संसद् पूनःस्थापना त भैहाल्छ । तर, रिट निवेदकहरुको मागबमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नको लागि राष्ट्रपतिको नाममा परमादेश जारी हुने सम्भावना छ । किनकी संविधानको धारा ७६ को ५ भनेको सांसदहरुलाई स्वतन्त्र र स्वविवेकीय अधिकार दिईएको हो । यो भनेको संसद् जोगाउने ब्रम्हास्त्र हो ।’

उक्त मुद्दामा सुनुवाई गर्न गठित इजलासको नेतृत्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गरेका छन् । र, इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot