काठमाडौं, २८ असार । नेपाल बंगलादेश बैकले मकवानपुगढी गाउँपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ ।
मकवानपुर जिल्लाको उक्त गाँउपालिकामा बैंक, आर एण्ड डि इनोभेटीभ सोलुसन, मकवानपुरगढी गाँउपालिका र मकवानपुरगढी गाँउपालिका सहकारी समन्वय समितिबीच भएको चौ–पक्षिय सम्झौता अनुसार गाँउपालिकाको अध्यक्ष बिदुर हुमागाईंले किसान कृषि लोन कार्ड हस्तान्तरण गरी २५ गतेबाट लगानीको सुरुवात गरेको जनाएको छ ।
बैंकको अनुसार यसबाट पहिलो चरणमा मकवानपुरगढी गाँउपालिका वडा नं ३ का २५ जना कृषकहरु लाभान्वित हुने छन् । यस योजना अन्तर्गत बिना धितो, एकैप्रकारको व्यवसाय गर्ने र एउटै क्षेत्रका किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गर्ने भएको छ ।
बैंकको अनुसार कृषकहरुले कर्जाको साथै त्यतिनै सीमा बराबरको क्यूआर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् । उक्त कार्डबाट कृषकहरुले सामान खरीद गर्दा कार्डको क्यू आर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।
नगद रहित विद्युतिय भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकहरुलाई पनि समेटेर यो योजना ल्याएको बैंकले जनाएको छ ।
बैंकको अनुसार पहिलो चरणमा पाइलट प्रोजेक्टको रुपमा मकवानपुरगढीे गाँउपालिकाबाट शुरु गरी नेपाल अधिराज्यभरीनै यस किसिमको कर्जा विस्तारित गर्दै ग्रामिण भेगका कृषकहरुलाई विद्युतिय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन गर्नुका साथै कृषकहरुको जीवनस्तर उकास्न सहयोग गर्ने पनि जनाएको छ । हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।