Logo

माधव नेपाल पक्ष आजबाट विपक्षी गठबन्धनमा नरहने, देउवालाई विश्वासको मत दिनेबारे अन्यौल



काठमाडौं, २८ असार । नेकपा (एमाले) को माधव कुमार नेपाल समूह आजबाट विपक्षी गठबन्धनबाट बाहिरिएको छ । सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा पूनःस्थापना गर्ने फैसला गरेपछि आज माधव नेपालको निवासमा बसेको विपक्षी गठबन्धनको बैठकमा नेपाल समूहले आजबाट गठबन्धनमा नरहने घोषणा गरेको हो ।

बैठकमा सहभागी माधव नेपाल समूहका नेता रघुजी पन्तले आफूहरु संविधान र गणतन्त्रको पक्षमा दृढ भएर उभिएको सुनाउँदै भोलिका दिनमा पनि लोकतन्त्र, संविधान र गणतन्त्रमाथि खतरा आए त्यसको विरुद्धमा उभिने बताए । तर, अदालतको फैसलापछि अब एमाले आफ्नो पार्टी एकतामा केन्द्रित रहने उनको भनाई छ ।

अदालतको फैसला नआउँदासम्म आफ्नो पक्षका सांसदहरुको हस्ताक्षर फिर्ता नहुने भनिएको र आज अदालतको फैसला आएपछि अब विपक्षी गबन्धनमा रहिरहने कुरा नभएको उनको भनाई छ । देउवा नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्नुपर्ने भन्दै सोहीअनुसार नेता नेपालले आफ्नो सुझाव दिएको पनि उनले जानकारी दिए । र, अब बन्ने सरकार एकलौटी नचलोस भन्ने पनि नेता नेपालले सुझाव दिएका थिए । देउवालाई विश्वासको मत दिने वा नदिने भन्नेबारे एमालेले सिंगो पँक्ति एक भएर निर्णय गर्ने उनले स्पष्ट पारे । file photo



प्रतिक्रिया दिनुहोस्