Logo

माधव नेपाल ओलीविरोधी गठबन्धनबाट अलग्गिए



काठमाडौं, २८ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित उनको खेमा प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनबाट आजबाट अलग भएको छ । आज कोटेश्वरमा गठबन्धनको बैठकमा नेपालले आफू आजबाट गठबन्धनबाट अलग भएको जानकारी गराएका हुन् ।

नेपाल निकट नेता रघुजी पन्तले गठबन्धनको उद्देश्य प्रतिनिधि सभा पुनःस्थापना भएकाले त्यो पूरा भएकोले अब आफूहरु नरहने बताए । संविधानको रक्षाका लागि गठबन्धन बनेको र त्यो पूरा भएकोले अब आफूहरु पार्टी एकताका लागि केन्द्रित हुने बताए ।

एमाले वरिष्ठ नेता माधव नेपाललाई उनकै खेमाबाट गठबन्धनबाट अलग हुन दबाब परेको थियो । तर, उनले अन्तिम समयसम्म चट्टाने अडान लिएका थिए । जसका कारण संसद पुनःस्थापना भई देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।

अब नेता नेपाल गठबन्धनबाट अलग भएपछि नयाँ राजनीतिक परिस्थिति विकास भएको छ । देउवालाई ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा कठिन हुने देखिएको छ ।

माधव नेपाल पक्षका २३ सांसद समेत गरी १४६ सांसदको देउवालाई समर्थन प्राप्त थियो । अब २३ सांसद घटेपछि देउवाको पक्षमा १२३ सांसद मात्र पुग्ने भएको छ ।
बहुमतका लागि देउवालाई थप ११ सांसद आवश्यक पर्छ । जसपाले साथ दिएमा मात्र उनले बहुमत प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्