Logo

असंबैधानिक र अलोकतान्त्रिक कार्यलाई सच्चाएर कांग्रेस नेतृत्वको सरकार अघि बढ्छः नेता सिंह



काठमाडौं, २९ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले दुईतिहाईको सरकारले विधिलाई मिचेर गरेको असंबैधानिक र अलोकतान्त्रिक कार्यलाई सच्चाएर काँग्रेस नेतृत्वको सरकार अगाडी बढ्ने दाबी गरेका छन् ।

आज नेपाली कांग्रेस काठमाडौ जिल्ला कार्य समितिको विशेष बैठकलाई सम्बोधन गर्दै नेता सिंहले कोरोना महामारीको योजनाबद्ध रुपले सामना गरि सबै जनतालाई खोपको व्यवस्था गर्ने बताएका हुन् । काँग्रेसले सरकारको प्रभावकारीता जनताले महसुस गर्ने गरी काम गर्ने उनको दाबी छ ।

साथै नेता सिंहले राष्ट्रपति र प्रधानमन्त्रीले गरेको असंबैधानिक कामलाई अदालतले सच्चाएको बताएका छन् । सर्वोच्च अदालतको पछिल्लो फैसला देश र जनताको पक्षमा भएको भन्दै नेता सिंहले अब कसैले पनि संविधानमाथि प्रहार गर्ने हिम्मत गर्न नसक्ने जिकिर गरेका छन् ।

अर्को प्रसङ्गमा उनले पार्टीलाई देश र जनताका लागी काम गर्न सक्ने सक्षम नेतृत्वको आवश्यकता रहेको बताए । १४ औं महाधिबेशनले पार्टीलाई रुपान्तरण गर्न सक्ने नेतृत्व चयन गर्नु पर्ने उनको भनाई छ । काँग्रेसले देशलाई महत्वपूर्ण अवस्थामा संकटबाट उन्मुक्ती गराउँदै आएकाले अबको नेतृत्व समय सुहाउँदो हुनु पर्नेमा नेता सिंहले जोड दिए ।

साथै सिंहले देश र जनतालाई शिरमा राखेर पार्टीलाई मजबुत र सफल बनाउनको लागी आगामी महाधिबेशनमा आफु नेतृत्वका लागी तयार भएको समेत बताएका छन् । उनले पार्टीको आसन्न महाधिबेसन कुनै पनि हालतमा समयमा नै सम्पन्न हुने ठोकुवा गरे ।



प्रतिक्रिया दिनुहोस्