Logo

दाङमा रेडपाण्डाको छालासहित दुई पक्राउ



दाङ, ३० असार: दाङ प्रहरीले प्रतिबन्धित वन्यजन्तु (रेडपाण्डा) रातो हाब्रेको छाला ओसारपसार तथा बिक्रीवितरण गरिरहेका दुई जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गा नगरपालिका–८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट दह ३ घर भई हाल जुनीचाँदी गाउँपालिका–७ बस्ने ४८ वर्षीय डिलबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

उनीहरूलाई घोराही उपमहानगरपालिका–१६ गुरुवामा प्रतिबन्धित (रेडपाण्डा) को छाला बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूको साथबाट पुच्छरदेखि टाउँकोसम्म २ फिट १० इन्च लम्बाई भएको नङ्ग्रासहितको रेडपाण्डा जस्तो देखिने सुकेको छाला एक थान, काइनेटिक टल्कने ढुङ्गा सानो ठूलो गरी ३२ वटा र एक थान मोबाइल बरामद गरिएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्