Logo

देउवा सरकारलाई समर्थन गर्ने डा. लोहनीको भनाई (भिडिओसहित)



काठमाडौं, ३१ असार । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई प्राथमिकता निर्धारण गरेर काम गर्न सुझाव दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एक एक वटा समस्या समाधान गर्दै जानुपर्ने धारणा राखेका हुन् ।

उनले कोरोनालाई नियन्त्रण गर्नु, खोप समयमै ल्याएर जनतालाई दिनु नै अहिलेको सरकारको ठूलो चूनौति भएको बताए । उनले त्यसको लागि प्रधानमन्त्री देउवाले सबै मन्त्रालयलाई प्रभावकारी रुपमा चलाउनुपर्ने बताए । नेपालले आफ्नो स्रोत र साधनलाई उपयोग गर्नुपर्नेमा उनको जोड थियो । उनले आफ्नो पार्टीले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने वा नदिने भन्नेबारे छलफल गरेर निर्णय लिने जनाए ।

उनले भने,‘तर, मुख्य कुरा के हो भने हाम्रो पार्टीले सर्वोच्चले जे निर्णय गरेको छ, त्यसलाई हामीले मान्नुपर्छ । हाम्रो पार्टीले सर्वोच्चको निर्णयलाई मानेर अघि बढाउनुपर्छ भनेको छ ।’ सरकारको बारेमा भने गुण र दोषको आधारमा समर्थन गरिने उनको भनाई छ । उनले प्रशासनमा सुशासन ल्याउने काम गरे सरकारलाई पूर्ण समर्थन गर्ने जनाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot