कैलाली, ३१ असार । पाटे बाघको छाला सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका ७ मटकौनास्थित सडकबाट १० फिट लम्बाई र ६ फिट ७ ईन्च चौडाई भएको पाटे बाघको १ थान छाला सहित २ जना मंगलबार साँझ पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा मोहन्याल गाउँपालिका ५ सालघारी बस्ने ५२ वर्षीय पुर्ण बहादुर बुढामगर र लम्किचुहा नगरपालिका १ लम्की बसपार्क बस्ने ३० वर्षीय लोक बहादुर सिजापती (मगर) रहेका छन् ।
गौरीगंगा नगरपालिका ७ मटकौनामा पाटे बाघको छालाको कारोबार भइरहेको बिशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय मसुरीया कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले प्लास्टिकको कट्टामा बोकी हिँडिरहेको अवस्थामा छाला सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।