Logo

जीडीपीको आकारभन्दा बैंकहरूको कुल निक्षेप अधिक



काठमाडौं, साउन १। पछिल्लो समय बैंक तथा वित्तीय संस्थासँग भएको कुल निक्षेपको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा बढी देखिएको छ । कुल कर्जा र बजार पूँजीकरण पनि जीडीपीको आकारलाई टक्कर दिनेतर्फ अग्रसर भएको देखिन्छ ।

केन्द्रीय तथ्यांक विभागको आर्थिक वर्ष (आव) २०७७र७८ को प्रारम्भिक आँकडाअनुसार नेपालको जीडीपी ४२ खर्ब ६६ अर्ब छ । तर, बैंक तथा वित्तीय संस्थाहरूको चालू आवको जेठसम्ममा कुल निक्षेप संकलन ४५ खर्ब १० अर्ब पुगेको छ । जीडीपीभन्दा बैंकहरूको निक्षेप ५ दशमलव ७२ प्रतिशतले बढी भएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले चालू आवको जेठसम्मको निक्षेपलाई आव २०७६र७७ को जीडीपीसँग तुलना गर्दा जीडीपीभन्दा निक्षेप १४ दशमलव ३४ प्रतिशत बढी रहेको देखाउँछ । गत आवको जीडीपीको आकार चालू आवभन्दा कम अर्थात् ३९ खर्ब ४३ अर्ब हाराहारीमा रहेको थियो ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको निक्षेप ३९ खर्ब ९३ अर्ब ८९ करोड रहेको छ । यस्तै, १८ ओटा विकास बैंकको कुल निक्षेप ४ खर्ब १५ अर्ब ७६ करोड रहेको छ भने २० ओटा वित्त कम्पनीहरूको निक्षेप १ खर्ब ७२ करोड रहेको छ ।

जीडीपीभन्दा निक्षेपको आकार बढिरहँदा बैंकिङ कारोबारको मात्रा राम्रै गतिमा बढेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाको कारोबार बढे पनि जीडीपीको आकार भने बढ्न सकेको छैन । यसले आर्थिक वृद्धि बढ्न नसकेको पनि देखाउँछ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्