Logo

एमाले फुटको टुंगो आजको संसदीय दलको बैठकबाट लाग्ने



काठमाडौं, १ साउन । नेकपा एमाले विभाजित हुने नहुने आज टुंगो लाग्ने भएको छ । एमाले अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक डाकेका छन् । बैठकमा माधव नेपाल पक्षीय २३ सांसदलाई पनि निम्तो गरिएको छ ।

आजको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावका हस्ताक्षरकर्ता २३ सांसदलाई कारबाहीका सम्बन्धमा समेत टुंगो लाग्ने बुझिएको छ । ओलीले सांसदहरुलाई कुन पक्षमा लाग्ने कित्ता काट्न मौका दिनसक्ने निकट स्रोतले बताएको छ ।

आजको बैठकमा माधव नेपाल भने सहभागी नहुने बुझिएको छ । उनी पक्षीय नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट , घनश्याम भुसालबारे भने स्पष्ट भएको छैन । नेपाल पक्षभित्रै देउवाको पक्ष विपक्षमा मतभेद छ ।

ओलीले नेपाल पक्षका सांसदहरुलाई कारबाही गरेमा एमाले विधिवत् विभाजनमा जान सक्छ । सांसदहरुको दल त्याग सम्बन्धी नियमावली अनुसार सांसद पद नै खारेज गर्नेतर्फ पनि ओली बढ्ने देखिएको छ ।

एमालेका १२१ सांसदमध्ये नेपाल पक्षसँग अहिले २३ जना छन् । तर, नेपालले संख्या बढाउन सक्ने बुझिएको छ ।

सत्ता संघर्षका क्रममा एमाले विभाजनको नजिक छ । राजनीतिक दलसम्बन्धी विधयेक ल्याएर विभाजन गर्न सहज बनाएर माधव नेपालले २० देखि २५ प्रतिशत सांसद लिएर अगाडि बढ्ने सम्भावना पनि छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot