Logo

बामदेवको कित्ताकाट हुँदै, अब माधव नेपालसँग सहकार्य गर्ने



काठमाडौं, १ साउन । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमको केही दिनमै कित्ताकाट हुने भएको छ । एमालेको कुनैपनि पक्षमा नलागी तटस्थ भूमिकामा रहेका गौतम अब माधवकुमार नेपालसँग सहकार्य गरेर अगाडि बढ्ने टुंगोमा पुगेका छन् ।

गौतमनिकट स्रोतका अनुसार उनले वृहत कम्युनिस्ट एकताको मार्ग नछाडी माधवकुमार नेपालसँग सहकार्य गरेर बढ्ने भएका हुन् । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय पाए देउवा सरकारमा सहभागी हुने तयारीमा समेत गौतम रहेका छन् ।

माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम एउटै ठाउँमा उभिएर सकभर एमालेमा संघर्ष गर्ने नभए नयाँ दल दर्ता गरी अगाडि बढ्नेबारे समेत छलफल बढाएका छन् । वृहत्त कम्युनिस्ट एकताका नाममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि सहकार्य गरेर बढ्ने रणनीतिका साथ गौतम देखिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माधव नेपालको शक्ति संघर्ष हुँदा गौतम तटस्थ भूमिकामा रहेपनि ओलीको विपक्षमा थिए । उनले ओलीले गरेका निर्णयको खुलेर आलोचना गर्नुका साथै डाकेको बैठकहरु बहिष्कार गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot