काठमाडौं, १ साउन । २०७४ सालमा आमनिर्वाचन हुनुअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन बन्यो । गठबन्धन बन्दा प्रधानमन्त्री थिए शेरबहादुर देउवा । कम्युनिस्टहरुबीच गठबन्धन बन्दा देउवा नेतृत्वको नेपाली काँग्रेसलाई ठूलो धक्का लाग्यो । कम्युनिस्ट गठबन्धनले भारी बहुमत ल्यायो ।
केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि २ वर्ष सरकार विना अवरोध संचालन भयो । तर, तेस्रो वर्ष सरकारविरुद्ध चौतर्फी हमला भयो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी भित्र विवाद बढ्दै विभाजनको स्थिति आयो । नेकपा विभाजन हुँदा देउवा तटस्थ जस्तै थिए ।
ओलीसँग नजिक रहेका देउवालाई पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बारम्बार नजिक ल्याउन खोजे । तर, देउवा तयार भएनन् । प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमविरुद्ध प्रचण्ड र नेपाल सशक्त रुपमा उभिंदा पनि देउवा गठबन्धन गरेर सडकमा जान तयार भएनन् । उनले त्यतिबेला सम्म चुनावको रटान लगाइरहे ।
ओलीले त्यसपछि पनि संवैधानिक निकायमा जर्बजस्ती नियुक्ति गरे । त्यसपछि देउवा चिढिए । पटक पटक प्रचण्ड र नेपालले प्रधानमन्त्रीका लागि तयार हुन गरेको प्रस्ताव अस्वीकार गरेका उनले तयार भएको संकेत गरे । जसका कारण ओलीविरोध गठबन्धन बन्यो ।
देउवालाई माओवादी केन्द्र र नेकपा एमालेको माधवकुमार नेपाल पक्षसहितका दलले समर्थन गरे । उनलाई प्रधानमन्त्रीको प्रस्ताव समेत गरेर हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हान बमोजिम बुझाए । कुनैबेला देउवा प्रधानमन्त्री हुँदा जुटेका कम्युनिस्टहरु देउवालाई नै शक्तिमा ल्याउँदै फुट्ने अवस्थामा पुगे ।
नेकपा यसअघि नै फुटिसकेको छ । अब एमाले औपचारिक फुटको संघारमा छ । देउवा प्रधानमन्त्री हुँदा एमाले फुटको माहोल तयार हुँदैछ ।
३ साउनमा प्रतिनिधि सभाको अधिवेशन डाकिएको छ । सम्भवतः आगामी हप्ता नै देउवाले विश्वासको मत लिनेछन् । विश्वासको मत लिन नसके देश चुनावमा जान्छ ।
विश्वासको मत लिन सकेमा संसद अधिवेशन अन्त गरी अध्यादेशमार्फत् दल विभाजन सहज बनाउने अवस्था सृजना गरिने सम्भावना देखिदैछ । ओलीले पनि यही आँकलन गरेका छन् ।
दल विभाजन सहज हुनेगरी अध्यादेश ल्याएमा माधवकुमार नेपालसहित उनीपक्षीय सांसद र केन्द्रीय सदस्यहरु नयाँ दल दर्ताका लागि अगाडि बढ्न सक्छन् । देउवाको प्रधानमन्त्रीकालमा यी सबै घटना विकास हुँदैछ । देउवालाई प्रधानमन्त्री बनाउने विषयमा एमाले विवाद झन् चुलिएको थियो । अब विश्वासको मत पछि वार पारको अवस्था आउने देखिदैछ ।