काठमाडौं, १ साउन । नेकपा एमालेभित्र सांसद तानातानको अवस्था विकास भएको छ । भित्र भित्रै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सांसद तानातानको अवस्था विकास भएको हो ।
नयाँ सरकार गठन भएपछि एमालेको माधवकुमार नेपाल पक्षधरले ८ मन्त्रालय पाउने भएपछि त्यसको आशामा केही सांसदले ओली क्याम्प परिवर्तन गर्न खोजेका छन् । विगतमा नेपाल पक्षमा रहेर ओली पक्षमा गएकाहरु फर्कने सम्भावना बढ्दै गएको छ । त्यसका लागि नेपाल स्वयंले पहल गरेको र विश्वासपात्रहरुलाई पनि सक्रिय पारिरहेका छन् ।
ओलीले पनि आफू पक्षीय सांसदलाई जोगाएर नेपाल समूहका थप सांसदलाई पनि तान्न खोजेका छन् । उनले यसका लागि आफ्ना विश्वासपात्रहरुलाई सक्रिय बनाएका छन् । ओलीनिकट नेता महेश बस्नेतले सांसद सुरक्षित गर्न र तान्न सक्रिय भइसकेका छन् ।
एमालेमा कुल १२१ सांसदमध्ये यथास्थितिमा माधवकुमार नेपालको पक्षमा २३ सांसद छन् । उनको पक्षमा ३० देखि ४० सांसद सम्म पुग्ने दाबी गरिएको छ । ओली पक्षमा ९८ सांसद छन् ।
विगतमा माधव नेपाल पक्षधर ३० भन्दा बढी सांसद थिए । ती ओली पक्षमा गएर २८, २६ हुँदै २३ मा सिमित भएका छन् ।
नेपाल समूहमा पनि केही सांसदहरु कता लाग्ने हुन् टुंगो छैन । भीम रावल, सुरेन्द्र पाण्डे र गोकर्ण बिष्ट मध्यमार्गी देखिएका छन् । तर, उनीहरु ओली समूहमा लाग्ने सम्भावना क्षीण छ ।