–मिमबहादुर रावल, मान्म, २ साउन: जिल्ला अस्पता कालिकोटमा ब्लड बैंक नहुुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन् ।
अस्पतालका स्वास्थ्यकर्मी पवन आचार्यले ब्लड बैंक नहुुँदा रक्त सङ्कलनमा समस्या भएको बताउनुभयो । उहाँका अनुसार यस वर्ष मात्रै २०० युनिट रगत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रदान गर्नुभएको थियो ।
बिरामीलाई रगत अभाव भएमा फेसबुक पोष्ट गर्नुपर्ने र फोन गरी रक्तदातालाई बोलाउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले हालसम्म १३ र अस्पतालका स्वास्थ्यकर्मी प्रकाश अधिकारीले १० पटक रगत दान गरिसक्नुभएको छ । पचास श्ययाको अस्पताल सञ्चालनमा आउनेबित्तिकै अस्पतालमा ब्लड बैंक स्थापना गर्ने प्रमुख महतले जानकारी दिनुभयो । “ब्लड बैंक स्थापनाका लागि पहिले नै पहल गरिएको हो”, उहाँले भन्नुभयो, “बत्तीको अभावका कारणले स्थापना गर्न सकिएको थिएन ।”
जिल्लामा विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेको छ । “अहिले बिरामीलाई रगत अभाव भएमा फोन गरेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अन्य दाताहरुको सहयोगमा रगत प्राप्त गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “रगत समयमा पाउन नसकेमा अन्य अस्पतालमा पठाउने गरेका छौँ । रगतको अभावमा बिरामीको ज्यान भने गएको छैन ।”-रासस/File photo