काठमाडौं, २ साउन । पाचौंपटक प्रधानमन्त्री बनेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामा खासै खुशी र उत्साह देखिएको छैन । उनलाई यसपटक भाग्यले मात्र प्रधानमन्त्री बनाएन वाइ फोर्स बनायो । प्रधानमन्त्रीका लागि अगाडि बढ्न देउवा तयार थिएनन् । उनले बारम्बार प्रस्ताव आउँदा पनि अस्वीकार गरेका थिए ।
तत्कालीन नेकपाभित्र विवाद चुलिएपछि देउवासँग पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सहकार्यको प्रस्ताव गरेका थिए । तर, देउवा तयार भएनन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पौष २०७७ मा प्रतिनिधि सभा विघटन गर्दा पनि देउवाको विरोध नरम थियो ।
प्रचण्ड र माधव नेपाल सडकमा ओर्लिए तर देउवा गएनन् । उनले बेला बेलामा काँग्रेसको कार्यक्रममा ओलीको विरोध नरम शैलीमा गरेर चुनावको रटान लगाइरहे । देउवाइतर काँग्रेस नेताहरु सडकमा ओर्लिए । ओलीको कदमको घोर विरोध गरे ।
प्रतिनिधि सभा पुनःस्थापना भयो । त्यसपछि प्रचण्ड र माधव नेपाल पटक पटक बुढानिलकण्ठ पुगेर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरे । तर, उनले समय परिपक्व नभएको जवाफ दिए । कतिपयले देउवा ओलीसँग भित्री सहकार्य गरिरहेका थिए भनी विश्लेषण समेत गरे ।
पहिलोपटक अध्यादेश ल्याएर संवैधानिक परिषदबाट संवैधानिक निकायमा नियुक्तिहरु गर्दा देउवानिकटहरु परे । यद्यपि, देउवाले परिषद्को बैठक विपक्षी दलको नेताको हैसियतले बहिष्कार गरेका थिए । तर, दोस्रोपटकको बैठकसम्म आइपुग्दा देउवा चिढिए । त्यसपछि देउवा प्रचण्ड र माधव नेपालसँगको गठबन्धन गर्न पुगे ।
पटक पटक प्रधानमन्त्रीको प्रस्ताव आउँदा अस्वीकार गरेका देउवा बल्ल तयार भए । उनले त्यसका लागि निकै ठूलो दबाब झेल्नुपर्यो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को ५ बमोजिम बहुमतको सरकार गठनका लागि दाबी प्रस्ताव पेश गर्न आव्हान गर्दा देउवालाई १४९ सांसदले हस्ताक्षर गरी समर्थन जनाएका थिए । तर, देउवाको नियुक्ति भएन । ओलीले नै निरन्तरता पाए । त्यसपछि यो विषय अदालतमा पुग्यो ।
अदालतमा विषय पुग्दा पनि देउवाभन्दा चिन्तित प्रचण्ड र माधव नेपालहरु देखिए । उनीहरुका पक्षधर कानुन व्यवसायीले युद्धका शैलीमा मुद्दामा सक्रियता देखाए । अन्तमाः अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश जारी गर्यो । त्यसमा देउवाको जीत भन्दा प्रचण्ड र माधव नेपालको जीत भएको जस्तो देखियो ।
अहिले पनि देउवा प्रधानमन्त्री भएपनि निर्णायक शक्ति प्रचण्ड र माधव नेपाल देखिएका छन् । माधव नेपालले ओलीमाथि जीत हासिल गरेको जस्तो देखिदैछ । उपेन्द्र यादवले महन्थ ठाकुरमाथि जीत हासिल गरेको देखिदैछ ।
देउवा वाइ हार्ट नभई वाइ फोर्स प्रधानमन्त्री बनेको देखिदैछ । उनले प्रधानमन्त्री नियुक्त भएपछि पनि छिमेकी समकक्षीहरुबाट बधाई पाउन सकेका छैनन् । यसले देउवालाई झस्काएको हुनुपर्छ । त्यसमाथि काँग्रेसको महाधिवेशन नजिकिदैछ । भदौमा महाधिवेशन गर्नुपर्ने चुनौती छ । देउवा प्रधानमन्त्री भएपछि निकै शतर्क देखिएका छन् ।
गठबन्धनका दलहरुलाई शक्तिशाली मन्त्री दिएपछि काँग्रेसभित्र असन्तुष्टि बढ्ने खतरा उत्तिकै छ । काँग्रेसभित्र रामचन्द्र पौडेल पक्षधरलाई चित्त बुझाउनुपर्ने वाध्यता छ । कृष्णप्रसाद सिटौलालाई पनि मनाउनुपर्ने हुन्छ । देउवा यसकारण पनि चौतर्फी दबाबमा परेका छन् ।